• मुख्य

    न्यायाधीशद्वय केसी र शर्माले मात्रै गरे बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ

      ओमकार टाइम्स

    काठमाडौं — सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको रिट परेको इजलास मात्रै सुनुवाइ गरेका छन् ।

    मङ्गलबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १० इजलास तोकेका थिए । त्यसमा प्रधानन्यायाधीश जबराले आफ्नो एकल र नौ संयुक्त इजलास तोकेका थिए ।

    आज इजलास तोकिएकोमध्ये न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाइ भएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ ।

    त्यस्तै प्रधानन्यायाधीश जबराको एकल इजलामा मुद्दाको सुनुवाइ भएको छ । जबराको एकल इजलासले एउटा मुद्दा तामेलीमा, तीनवटा मुद्दामा कारण देखाऊ आदेश, एक मुद्दा हेर्न नमिल्ने सूचीमा, एक मुद्दामा लिखित जवाफ माग र अर्को एक मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश जारी गरेको छ ।

    प्रधानन्यायाधीश जबराले आजका लागि बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य मुद्दा पनि राखेर पेशी तोकेका थिए ।

    बन्दी प्रत्यक्षीकरणको एउटा मुद्दाबाहेक अरु सबै इजलास न्यायाधीशले सुनुवाइ गरेनन् ।

    आजको पेशीमा न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडाल, डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगाना, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र वमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा तथा प्रधानन्यायाधीश जबराको एकल इजलास तोकिएको थियो ।

    प्रतिकृया दिनुहोस