• फिचर

    अज्ञात समुहद्वारा रौतहटको वडा कार्यालयमा आगजनी, कागजपत्र जलेर नष्ट

      ओमकार


    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । कार्यालयमा भएको आगजनीबाट वडा कार्यालयमा रहेका कागजपत्र जलेर नष्ट भएको छ ।

     

    बुधबार विहान १ बजेको समयमा समुहमा आएका ब्यक्तीहरुले कार्यालयमा आगजनी गरेको स्थानीयले बताएका छन् । आगजनीबाट कार्यालयमा रहेको कम्प्युटर , दराज, टेवुल, कुर्सी तथा कागजपत्र जलेर नष्ट भएको वडा अध्यक्ष वोधनाथ देवकोटाले बताए । आगजनीबाट फर्निचर सहित करिव ७ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । कार्यालयको सम्पुर्ण कागजपत्र जलेकाले कार्य सम्पादनमा समस्या हुने उनको भनाई छ ।

     

    घटना लगतै सर्वसाधरण तथा सुरक्षाकर्मी लगायतको सहयोगमा आगो भने नियन्त्रणमा लिईएको थियो । आदर्श सामुदायिक वनको भवनमा वडा कार्यालय रहेको थियो । आगजनीका कारण भवनमा समेत आंशिक क्षति पुगेको वडा अध्यक्ष देवकोटाले बताए । घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक कबित कटुवालले बताए । यसैगरि वडा कार्यालय नजिकै राखिएको बम नेपाली सेनाको टोलीले वुधबार विहान डिस्पोज गरेको छ । कार्यालय जाने सडकमा राखिएको बमका कारण स्थानीय भने त्रसित भएका थिए ।

     

    वडा कार्यालय वरपर वा बम राखिएको स्थानमा कुनै पर्चा नभेटिएपनि नेत्र विक्रम चन्द (विप्लब) समूहले गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । उक्त घटनामा संग्लन रहेको आशंकामा प्रहरीले चन्द्रपुर ३ स्थित गैडाटारबाट एक जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । नेत्र विक्रम चन्द (विप्लब) समूहले वुधबार आह्वान गरेको बन्दको प्रभाव रौतहटमा परेको छ ।

     

    चन्द्रनिगाहपुर क्षेत्रमा रहेका शैक्षिक संस्था तथा पसल बन्द छ भने यातायातका साधन भने कम गुडेका छन् । गौर लगायतका दक्षिणी भेगमा भने बन्दको प्रभाव परेको छैन।

    प्रतिकृया दिनुहोस