• खेलकुद

    न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलियाले जित्यो टी–२० विश्वकपको उपाधि

      ओमकार टाइम्स

    काठमाडौँ : आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ। दुबईमा आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलिया पहिलोपटक टी–२० विश्वकपको नयाँ च्याम्पियन बनेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएको थियो । १७३ रनको लक्ष्य अस्ट्रेलियाले १८.५ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा गर्‍यो ।

    अस्ट्रेलियाका मिचेल मार्स र डेभिड वार्नरले टोलीलाई जिताउन अर्धशतकीय योगदान दिए। मार्सले अविजित ७७ रन बनाए। डेभिड वार्नरले ३८ बलमा ५३ रन जोडे। दोस्रो विकेटका लागि मार्स र वार्नरले ९२ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। यस्तै मार्सले तेस्रो विकेटका लािग ग्लेन म्याक्सवेलसँग ६६ रनको साझेदारी गरे र टोलीलाई जिताए। म्याक्सवेलले १८ बलमा २८ रन बनाए। उता न्युजिल्यान्डतर्फ ट्रेन्ट बोल्टले ४ ओभरमा १८ रन मात्र खर्चेर २ विकेट लिए। पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रनको योगदान गरे।

    उनले ४८ बलमा १० चौका र ३ छक्का हानेका थिए। ​मार्टिन गप्टिलले २८ रन बनाए भने ग्लेन फिलिप्सले १८ र डार्यल मिचेलले ११ रन जोडे। विजेता अस्ट्रेलियाका डेभिड वार्नर प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बनेका छन्। फाइनल खेलमा अर्धशतक बनाएका उनले प्रतियोगितामा २८९ रन जोडेका हुन्।

    प्रतिकृया दिनुहोस