• समाचार

    अमेरिकाबाट हैजाविरुद्धको साढे २ लाख डोज खोप नेपाल ल्याइयो

      ओमकार टाइम्स

    कपिलवस्तु : कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि सरकारले अमेरिकाबाट ‘ओरल कलेरा भ्याक्सिन’ नेपाल ल्याएको छ। आइतबार दुई लाख ५२ हजार तीन सय ६३ डोज हैजाविरुद्धको खोप काठमाडौं आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त खोप कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई लगाइने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टक पाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै भारतबाट नेपाल ल्याइएको हो। आगामी आइतबार खोप लगाउने तयारीका साथ काम भइरहेको मन्त्रालयले जनाएको छ। कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिनेछ। गएको १८ असोजदेखि कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणमा नआएपछि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको थियो।

    हैजाबाट कृष्णनगरमा सयौँ बिरामी परेका छन् भने सात जनाको मृत्युसमेत भइसकेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार हैजाबाट कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ नम्वर वडा बढी प्रभावित भएका छन् । त्यहाँका बिरामीमा अहिले पनि झाडापखाला र बान्ताको समस्या नियन्त्रणमा आइसकेको छैन । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले हैजा प्रभावित क्षेत्रका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोप दिइने बताए।

    प्रतिकृया दिनुहोस