• मुख्य

    बार एशोसिएशनलाई संवादमा आउन प्रधानन्यायाधीशको आह्वान

      ओमकार टाइम्स

    काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न आह्वान गरेका हुन् । न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै उनले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

    पारस्परिकता र हार्दिकताको क्रम जहाँबाट टुटेको छ त्यहीँबाट समाधानको सम्भावना खोज्न सकिने उनले बताए । उनले जनताले विश्वासको शीरमा राख्दै आएको न्यायपालिकाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिकाभित्रका सबै अवयवहरुको साझा दायित्व रहेको पनि प्रस्ट पारेका छन् । ‘नेपालको प्रधानन्यायाधीशका रुपमा मेरो अग्रसरता यस प्रक्रियामा जति आवश्यक छ, त्यतिकै अग्रसरता बार एशोसिएशन र यसका ईकाइहरुबाट पनि अपेक्षा गरिएको हुन्छ भन्नु अतिशयोक्ति हुँदैन,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘न्यायको एकै रथका दुई पाङ्ग्राका रुपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मनन् गरी न्यायको रथलाई फेरि जनताको सेवामा निर्वाध गुडाइरहनुपर्ने चुनौती हाम्रा सामु खडा भएको छ ।’

    प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन आफू तयार रहेको पनि प्रस्ट पारेका छन् । झण्डै ३ सातादेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ नगरेको र दुई साताभन्दा बढी समयदेखि बारले आन्दोलन गरिरहेको सन्दर्भमा जबराले विज्ञप्तिमार्फत संवादका लागि आह्वान गरेका हुन् । विशेष गरी विज्ञप्तिमा बारलाई नै सम्बोधन गरेर वार्ताका लागि आह्वान गरिएको छ ।यता बारले भने प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन नरोकिने बताउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस