• समाचार

    मोरङमा ग्याङ फाइट, एक जनाको हत्या

      ओमकार टाइम्स

    मोरङको बूढीगङ्गा गाउँपालिका ६ कोयलपुरमा आइतबार राति युवाहरूबीच ग्याङ हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको छ । २६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।

    बूढीगङ्गा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राति घर गएका थिए । नानु र रिजन साथी हुन् । बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका बूढीगङ्गा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहसँग दाहालको विवाद भएको थियो ।

    विवाद बढ्दै गएपछि उनीहरूले रिजनलाई लिएर बूढीगङ्गा ६ का डम्बरबहादुर लिम्बूको बारीमा लगेर आक्रमण गरेका थिए । उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ ।

    टाउकामा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीले बूढीगङ्गा ७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा ४ दव्रेबास घर भइ इटहरी १३ बस्दै आएका २४ वर्षीय कमल थापालाई मोरङ प्रहरी कार्यालयमा ल्याएर घटनाबारेमा अनुसन्धान सुरु गरेको छ ।

    प्रतिकृया दिनुहोस