• मुख्य

    आज पनि कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा धकेलाधकेल

      ओमकार टाइम्स


    सर्वोच्च अदालत परिसरमा आज पनि कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ । प्रहरीले धर्नास्थलमा कानुन व्यवसायीलाई रोक्न खोज्दा घम्साघम्सी भएको हो । अहिले सर्वोच्च परिसरमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।

    हिजो पनि प्रदर्शनमा रहेका कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा कानुन व्यवसायीले गएको १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।

    हिजो राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बार एसोसिएशनको अगुवाइमा भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो । यस्तै, हिजो सर्वोच्च अदालतका न्यायाधीशको पूर्ण बैठक अर्थात फुल कोर्टले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको थियो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका १८ जना न्यायाधीशको आज बसेको बैठकले प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था परिवर्तन गर्दै गोला प्रणालीमार्फत इजलास तोक्ने प्रावधानसहितको नियमावली पारित गरेको हो ।

    प्रतिकृया दिनुहोस