• मुख्य

    सर्वोच्चमा आज पनि वकिल र प्रहरीबीच घम्साघम्सी

      ओमकार टाइम्स

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच धक्का मुक्का भएको छ । शुक्रबार कानुन व्यवसायी यसअघि धर्नामा बस्दै आएको सर्वोच्च परिसरमा जान खोजेपछि प्रहरीले उनीहरुलाई रोक्न खोजेपछि दुबै पक्षबीच धकेलाधकेल भएको हो । प्रहरीसँगको घम्साघम्सीमा अधिवक्ता लक्ष्मी पोखरेल घाइते भएका छन् ।

    नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रहरीले अधिवक्ता पोखरेलकाे संवेदनशील अंगमा बुट प्रहार गरेको छ। यसअघि धर्ना बसिरहेको स्थलमा कानुन व्यवसायी जान खोजेका थिए। तर, प्रहरीले आज उक्त क्षेत्रमा जान रोक लगाएर घेरा हालेको छ। सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीको संख्यासमेत बढाइएको छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्चको मूल गेट अगाडि धर्नामा बस्दै आएका कानुन व्यवसायीमाथि प्रहरीले दमन गर्दै आएको छ ।

    यसअघि बिहीबार पनि प्रहरीसँगको घम्साघम्सीमा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित ६ जना कानुन व्यवसायी घाइते भएका थिए । आन्दोलनरत वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।उनीहरुले ‘हामी अरु जान्दैनौं, चोलेन्द्रलाई मान्दैनौं’ भन्दै नाराबाजी गरेका छन् ।

    प्रतिकृया दिनुहोस