• मुख्य

    प्रधानन्यायाधीशले तोके ११ इजलास, बारले बहस पैरवी नगर्ने

      ओमकार टाइम्स


    काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि ११ वटा इजलास तोकेका छन्। जबराले १० वटा संयुक्त इजलास तोक्दा १ एकल इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै इजलास तोकेका छैनन् । मीरा खड्का र प्रकाशकुमार ढुंगानाको दुईवटा छुट्टाछुट्टै संयुक्त इजलास राखिएको छ भने हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलास राखिएको छ।

    त्यसैगरी न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको पनि छुट्टा–छुट्टै दुईवटा संयुक्त इजलास राखिएको छ। आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलास, अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलास, प्रकाशमान सिंह राउत र टंकबहादुर मोक्तानको संयुक्त इजलास, बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलास, तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास राखिएको छ। सबै प्रकृतिका मुद्दा पेशीमा चढेका छन् ।

    प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोन गर्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्चका न्यायाधीशहरुले २४ दिनपछि शुक्रबारबाट नियमित मुद्दा हेरेका थिए। बिहीबार प्रधानन्यायाधीश राणा बाहेकका १८ जना न्यायाधीशको सहभागितामा बसेको सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले मुद्दाको पेसी तोक्दा गोलाप्रथा प्रणाली अपनाउने निर्णय गरेपछि शुक्रबारदेखि न्यायाधीशहरु नियमित सुनुवाइमा फर्किएका हुन्।

    गोलाप्रथाबाट पेसी तोक्नका लागि सर्वोच्च अदालत नियमावली र निर्देशिका संशोधन गरिएको छ। नियमावली र निर्देशिका संशोधनसम्बन्धी सूचना राजपत्रमा प्रकाशित हुनु पर्नेछ। आइतबारदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्न सुरु हुने बताइएको भएपनि राजपत्रमा सूचना प्रकाशन नभएपछि आजबाट गोलाप्रथाबाट पेसी तोक्ने प्रकृया सुरु हुन नसकेको जनाइएको छ।

    नेपाल बार एसोसिएसनले भने आज देशव्यापी रूपमा इजलास बहिष्कार गर्दैछ । शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेपको विरोधमा बारले देशभरका सबै अदालतमा इजलास बहिष्कार गर्न लागेको हो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शान्तिपूर्ण विरोधमाथि भएको प्रहरी दमनको विरुद्ध आइतबार देशभरका अदालतमा आफूहरुले बहस पैरवी नगर्ने सर्कुलर पठाएको बताए ।

    प्रतिकृया दिनुहोस