• राजनीति

    काँग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व

      ओमकार टाइम्स

    पाँचथर – नेपाली काँग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ । पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र नं ख को क्षेत्रीय सभापतिमा काँग्रेस नेत्री मैया श्रेष्ठ (लावती)फराकिलो मतान्तरले विजय भएसँगै काँग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पु-याउन सफल भएको छ ।

    क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको अन्तरले पराजित गरेर श्रेष्ठ क्षेत्रीय सभापति चुनिएकी हुन्।  श्रेष्ठले २७४ मत प्राप्त गर्दा लामाले २०९ मत मात्रै प्राप्त गरे ।

    जिल्लाको मिक्लाजुङ गाउँपालिकाकी श्रेष्ठ विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध हुँदै काँग्रेसको क्रियाशील राजनीतिमा प्रवेश गरेकी थिइृन् ।  काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिएकी थिइन् । क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन् ।

    श्रेष्ठ नेतृत्वको कार्यसमितिको उपसभापति पदमा तेजबहादुर चेम्जोङ र जितबहादुर भण्डारी विजयी भएका छन् । सचिव पदमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत भएका थिए । यस्तै दुई जना सहसचिवमा ज्योतिप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन् ।पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं ख मा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ ले मतदान प्रक्रियामा भाग लिएका थिए।

    प्रदेशसभा क्षेत्र नं क मा भने जिल्ला कार्यसमिति सभापतिका अर्का उम्मेदवार रुपनारायण जबेगु पक्षधर भगीश्वर योङहाङ नेतृत्वको प्यानल विजयी भएको छ ।

    प्रतिकृया दिनुहोस