• राजनीति

    महाधिवेशन प्रतिनिधि छनौट गर्दा ख्याल गर्न गगन थापाको अपिल

      ओमकार टाइम्स

    काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टी भविष्य हेरेर महाधिवेशन प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् । कांग्रेसको चौधौं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले सोमबार एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् । आज गर्ने महाधिवेशन प्रतिनिधि चयनको निर्णयले महाधिवेशनबाट पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय हुने उनको भनाइ छ ।

    उनले भनेका छन्, ‘महाधिवेशन प्रतिनिधि पार्टीको सबैभन्दा आधारभूत तहको निर्णायक शक्ति हो। आज गर्ने निर्णय र छनोटले नै मंसिर २४ देखि हुने महाधिवेशनमार्फत पार्टी र नेतृत्व कस्तो बनाउने भन्ने तय गर्छ भन्ने ख्याल राख्दै निर्णय गर्नका लागि हार्दिक अपिल गर्दछु।’  कांग्रेसले सोमबार १४८ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्दैछ। अधिवेशनबाट क्षेत्रीय सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।

    थापाले प्रतिनिधिहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘कांग्रेसजनको मत र भावनाको प्रतिनिधिका रुपमा कस्तो कांग्रेस बनाउने भन्ने जगमा तपाईं हुनुहुन्छ। जग कमजोर भयो भने जतिसुकै मेहनतले घर बनाउन खोजे पनि बलियो बन्न सक्दैन।’ उनले अहिले सही निर्णय गर्न सके मात्र पार्टीले सही गति लिन सक्नेमा जोड दिएका छन्। ‘पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईंहरुबाट हुनेछ। तपाईंकाे निर्णय पार्टीको सर्वोत्तम हित र नव निर्माणका लागि हुने छ भन्नेमा विश्वस्त छु,’ थापाले भने ।

    प्रतिकृया दिनुहोस