• मुख्य

    एमाले महाधिवेशन: ११ गते उम्मेदवारी मनोनयन गरिने

      ओमकार टाइम्स

    काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने महाधिवेशन निर्वाचन आयोगका सचिव बाबुराम दाहालले जानकारी दिए ।

    उनले उद्घाटन सत्र सकिएपछि निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलोपटक मतदान हुने भएको छ ।

    आयोगका सचिव दाहालले मतदानका लागि ९२ वटा उपकरण प्रयोग गरिने जानकारी दिए । महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५–१५ जना गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् ।
    उम्मेदवारीको मनोनयन गरिसकेपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुनेछ ।

    उनका अनुसार एक जना प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए । उनले एउटा मेसिनमा २२ देखि २३ जनाले मतदान गर्ने व्यवस्था गरिएको बताए। निर्वाचनमा ५० किसिमका विद्युतीय मतपत्र रहने छन् ।

    महाधिवेशनमा एमालेले निर्वाचनका लागि ९२ वटा मेसिनको प्रयोग गर्ने छ तर महाधिवेशनस्थलमा १०० वटा मेसिन लगिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ । दाहालले महाधिवेशनस्थलमा तीनवटा मेसिन र मोबाइलबाट नमूना मतदान गराइने बताए । राम–लक्ष्मण इनोभेसनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामै मतपरिणाम घोषणा गर्ने बताए ।

    प्रतिकृया दिनुहोस