• देश

    ठगी आरोपमा थुनामा रहेका व्यक्ति नै ठगिए

      ओमकार


    काठमाडाैं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भनी ठगी हुने गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

     

    थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भनी रु एक लाख ठगी गरेको खुल्न आएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

     

    प्रहरी र वकिललाई बुझाउनुपर्छ भन्दै अरु रु पाँच लाख माग गरेकोसमेत खुल्न आएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा महोत्तरीका प्रवीणकुमार लाभलाई पक्राउ गरी परिसरले अनुसन्धान थालेको छ ।

     

    धनुषा जनकपुर उप–महानगरपालिका वडा नं–२ का ३४ वर्षीय मोहम्मद आर्फिन अलिनसँग साउन २ गते एड्भान्स स्वरुप रु एक लाख लिएको पाईएको बोगटीले जानकारी दिनुभयो ।वानेश्वरस्थित एक क्याफेमा पैसा लिएर फरार भएपछि उक्त घटना प्रहरीमा आइपुगेको हो । काठमाडौँको कलङ्कीबाट उनलाई आज प्रहरीले पक्राउ गरेकाे हो ।

     

    ठगी मुद्दामा गत असार ३१ गते पक्राउ परी हाल प्रहरीको हिरासतमा रहेका आकिव जावेद, यमदादुल मोमिन र सगिर शेखलाई छुटाउन प्रहरी र सरकारी वकीललाई पैसा दिनुपर्ने भन्दै उनले रु ६ लाख माग गरेका थिए ।

     

    जावेद भारतीय नागरिक हुन् । उनीहरु अनलाईनमार्फत रु ५० लाख विगो बराबरको ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्ति हुन् ।

    प्रतिकृया दिनुहोस