• समाचार

    कोइरालाले पौडेलसँग भने- प्रकाशमानले दाबेदारी छोडे मेरो समर्थन तपाईंलाई

      ओमकार टाइम्स

    काठमाडौँ : कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् । बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताएका हुन् । ‘तपाईँ सबैको साझा उम्मेदवार बन्नका निम्ति प्रकाशमानजीलाई मनाउनुस् । उहाँले मानेको अवस्थामा मेरो समर्थन तपाईँलाई नै रहनेछ,’ कोइरालाले पौडेललाई भनेका छन् ।

    सिंहले दाबेदारी नछोडेको अवस्थामा भने आफूलाई सहयोग गर्न शेखरले पौडेललाई आग्रह गरेका छन् । ‘सिंहले छाड्नुभएन भने तपाईँ मलाई सहयोग गर्नुस्,’ उनको भनाइ थियो । वरिष्ठ नेता पौडेल पक्ष मंगलबार देखि सहमतिको साझा उम्मेदवार बनाउन दौडधुपमा छ ।

    पार्टी र सत्ताको केन्द्रमा रहेका शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिहरूको अंकगणितमा समेत बलियो बनेपछि संस्थापनइतरलाई साझा उम्मेदवार बनाउन दबाब बढेको हाे । बुधबार साँझको बैठकमा पौडेलले भावुक हुँदै आफूलाई नमान्ने हो भने पार्टीको जिम्मेवारीबाट अलग रहने बताएका थिए।

    प्रकाशमानले उमेरमा शेखर दाइ भए पनि राजनीतिमा आफू सिनियर भएको दाबी गर्दै सभापतिमा आफूलाई उठाउनुपर्ने माग गरेका छन् । उनले सधैं गणेशमान सिंहको परिवारले त्याग गरेको उल्लेख गर्दै यसपटक कोइरालाले परिवारले त्याग गर्नुपर्ने पनि बताएका छन् । नेताहरूले चयन गर्न नसकेमा मतदानमार्फत भए पनि टुंगो लगाइने युवा नेताहरूले बताइरहेका छन् ।

    प्रतिकृया दिनुहोस