• समाचार

    कल्याण गुरुङले दिए कांग्रेस सभापतिमा उम्मेदवारी

      ओमकार टाइम्स

    काठमाडौँ : नेपाली कांग्रेसको सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएपछि गुरुङले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् । उनले भने, ‘परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेका हुँ । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा मेरो उम्मेदवारी हो।’

    हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने उनको भनाइ छ । गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । गुरुङ केन्द्रीय सदस्य हुन् । एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने उनको एजेण्डा छ ।

    यस्तै सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । नेपाली काँग्रेसको महाधिवेशनमा शनिबार बिहान १० बजेबाट सुरु भएको उम्मेदवारी मनोनयन दर्ता साँझ ५ बजेसम्म रहने काँग्रेसले जनाएको छ ।

    प्रतिकृया दिनुहोस