• समाचार

    ई–पासपोर्टका लागि मंगलबारबाट आवेदन दिन पाइने

      ओमकार टाइम्स

    काठमाडौँ । सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि मात्र मंगलबारबाट आवेदन दिन पाउने व्यवस्था गरेको छ । राहदानी विभागका निर्देशक तथा प्रवक्ता शरदराज अरनले राष्ट्रिय परिचयपत्रबिना कसैले पनि विद्युतीय राहदानीका लागि आवेदन दिन नपाउने बताए । ‘विद्युतीय राहदानी लिँदा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य चाहिन्छ,’ उनले भने ।
    राहदानी विभागले मंसिर १ मै विद्युतीय राहदानी वितरण सुरु गरेको भए पनि सोमबारसम्म ‘मेसिन रिडेबल पासपोर्ट’ (एमआरपी) जारी गर्दै आएको छ । अब भने विद्युतीय राहदानीका लागि मात्र आवेदन लिन पाइनेछ ।

    यसअघि आवेदन दिएका व्यक्तिहरूले मात्र एमआरपी पाउने छन् ।
    राष्ट्रिय परिचयपत्र ७७ जिल्लाकै प्रशासन कार्यालयबाट जारी भइरहेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र जारी गर्ने जिम्मेवारी पाएको हो । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सबै जिल्ला र केही इलाका प्रशासनबाट राष्ट्रिय परिचयपत्र जारी भइरहेको छ ।
    सरकारले सुरुआतमा केही जिल्लालाई मात्र केन्द्र बनाएर राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । पछि सबै जिल्लाबाट उक्त परिचयपत्र दिन थालेको हो । राष्ट्रिय परिचयपत्र लिन नागरिकता अनिवार्य चाहिन्छ ।

    परिचयपत्रका लागि आवेदन दिँदा नागरिकताको प्रमाणपत्र नम्बर, नागरिकता जारी मिति, जारी जिल्ला तथा नागरिकताको किसिमबारे उल्लेख गर्नुपर्ने हुन्छ । पहिले नै राहदानी लिएको व्यक्तिले उक्त राहदानीको सक्कल वा प्रतिलिपि पेस गर्नुपर्ने हुन्छ ।
    सरकारले जैविक (बायोमेट्रिक) सूचना पनि राष्ट्रिय परिचयपत्र निर्माणको दौरानमा संकलन गर्नेछ । त्यस बेला राखिने औंठाछाप र अन्य सूचनालाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राहदानी विभागलाई बुझाउँछ । ‘यसले गर्दा नक्कली राहदानी बनाउने र अन्य गलत काम हुने बाटो बन्द हुन्छ,’ विभागका प्रवक्ता अरनले भने ।
    सरकारले मंसिर १ मा ‘थर्ड जेनेरेसन’ विद्युतीय राहदानी जारी गरेको थियो । सन् २०१० सम्म हस्तलिखित राहदानी मात्रै प्रयोग गर्दै आएको नेपालले त्यसपछि एमआरपी प्रयोग गर्न थालेको हो । ‘हस्तलिखित राहदानी फस्ट जेनेरेसन, एमआरपी सेकेन्ड जेनेरेसन र अहिलेको विद्युतीय राहदानी थर्ड जेनेरेसन हुन्,’ राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भने ।
    विद्युतीय पासपोर्टमा ‘चिप’ हुन्छ, जसमा बायोमेट्रिक (जैविक) सूचना तस्बिर र औंठाछाप हुन्छन् । साधारण, कूटनीतिक, विशेष, अस्थायी, सिम्यास रेकर्ड बुक र सर्भिस गरी ६ किसिमका विद्युतीय राहदानी जारी गर्छ । एक घण्टामा एक हजार विद्युतीय राहदानी जारी गर्न सकिने विभागले जनाएको छ ।
    विभागले ७ हजार ५ सय विद्युतीय राहदानी जारी गरेर परीक्षण गरेको थियो । नेपालले एमआरपी लागू गरेका बेला कूटनीतिक, पदाधिकारी, साधारण र ट्राभलतर्फ गरी ७० लाख थान राहदानी छापेको थियो । सरकारले छापेको एमआरपी आवेदन दिएकाहरूका लागि जारी गरेपछि सकिने विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस