• समाचार

    दुई पालिका जोड्ने मितेरी पुल शिलान्यास

      रासस

    तनहुँका दुई पालिका जोड्ने मितेरी पुल निर्माण सुरु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–५ र शुक्लागण्डकी नगरपालिका–७ जोड्ने म्याग्दे खोलामा मितेरी पक्की पुल बिहिबार शिलान्यास गरिएको हो ।

    पुल निर्माणका लागि करसहित रु एक करोड ४० लाख ४३ हजार १४५ मा ठेक्का सम्झौता भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताउनुभयो । सम्झौताअनुसार गाउँपालिका र नगरपालिकाले समान रु ७० लाख २१ हजार ५७२ लगानी गर्ने गरी पुल निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

    आगामी २०७९ मङ्सिर ५ गते निर्माण सक्ने गरी गत असोज ४ गते ठेक्का सम्झौता भएको ठेकदार कम्पनी कश्यप निर्माण सेवा प्रालिले जनाएको छ । गुणस्तरीय काम गर्न र समयमै सक्न दुवै पालिकाका प्राविधिक टोली, जनप्रतिनिधि र वडावासीलाई सक्रिय हुन आग्रह गरिएको छ ।

    पुलको काम अघि बढाउन नगरपालिकाले रु ५० लाख बुझाइसकेको छ । नगर प्रमुख किशान गुरुङ र गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले संयुक्तरूपमा पुल शिलान्यास गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस