• समाचार

    मुलुकको अर्थतन्त्र शंकटमा

      ओमकार टाइम्स


    काठमाडौं । पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो देखिएको छ ।

    चालु आर्थिक वर्षको शुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र शंकटउन्मुख देखिएको हो । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको वित्तीय विवरणअनुसार वित्तिय सूचकहरु सकारात्मक देखिएको छ । राष्ट्र बैंकको वित्तीय विवरणले अर्थतन्त्रका धेरै सूचकहरुले मुलुकको अर्थतन्त्रको स्थिती निकै नै डरलाग्दो अवस्था ओरालो लागेको देखिएको छ ।

    राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा शोधानान्तर घाटा अहिलेसम्मकै उच्च भएको छ । यस अवधिमा शोधानान्तर घाटा १ खर्ब ५० अर्ब पुगेको छ । असोज मसान्तसम्म शोधानान्तर घाटा ७६ अर्ब १४ करोड रहेको थियो । यसरी पछिल्लो एक महिनामा नै शोधानान्तर घाटा दोब्बर भन्दा बढीले बढेको छ । चालु आर्थिक वर्ष लागेसँगै उच्च व्यापार घाटा, घट्दो रेमिटेन्सका कारण शोधनान्तर घाटा १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

    गत असार महिनामा १ अर्ब २३ करोड शोधानान्तर वचत रहेको थियो । तर, असार महिनापछि निरन्तर रुपमा घाटामा गएको छ । साउनमा ३८ अर्ब ७५ करोड घाटा पुगेको थियो भने भदौमा ८३ अर्ब ४१ करोड र असोजमा ७६ अर्ब १४ करोड घाटामा रहेको थियो । पछिल्लो एक महिनामै शोधानान्तर घाटा ७४ अर्ब २४ करोडले रुपैयाँ भएको छ ।

    त्यस्तै,रेमिटेन्सले धानेको देशमा कात्तिक महिना रेमिटेन्स पनि ७.५ प्रतिशतले घटेको छ । चालु वर्षको सबैभन्दा कम रेमिटेन्स कात्तिकमा भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार रेमिटेन्स ७३ अर्ब १० करोड मात्र भित्रिएको छ । रेमिटेन्स ७.५ प्रतिशतले घटेर ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ ।

    चालु आर्थिक वर्ष शुरुवातसँगै रेमिटेन्स पनि घट्न थालेको हो । गत आर्थिक वर्षको असार महिनामा ९० अर्ब ११ करोड रुपैयाँ भित्रिएको रेमिटेन्स चालु आर्थिक वर्ष लागेपछि निरन्तर घट्दै आएको छ ।

    रेमिटेन्स साउनमा ७५ अर्ब ९६ करोड, भदौमा ७९ अर्ब ४१ करोड रुपैयाँ भित्रिएको थियो । असोज महिनामा केही सुधार भएको थियो । यसरी सुधार भएर असोजमा ८३ अर्ब ९५ करोड रुपैयाँ रेमिटेन्स आएको थियो । तर, कात्तिकमा पुनः घटेर ७३ अर्ब १० करोड रुपैयाँमा सिमित भएको राष्ट्र बैंकले जनाएको छ । चालु वर्षको चार महिनामा ३ खर्ब १२ अर्ब ४२ करोड रेमिटेन्स भित्रिएको छ । गत कात्तिकमा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ भित्रिएको थियो ।

    त्यस्तै, राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चिति समेत घटेर दुई वर्ष यताकै न्यून अवस्थामा पुगेको छ । कात्तिक महिनामा विदेशी सञ्चिति १२ खर्ब ४४ अर्बमा रहेको छ । चालु आर्थिक वर्षको बीचमा आएर विदेशी सञ्चिति १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । सरकारले सञ्चितिमा रहेको पैसाले एक वर्षको लागि पुग्ने आँकलन गरेको थियो । तर, पछिल्लो महिना दिनमै सञ्चिति ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको राष्ट्रको वित्तिय विवरणले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय भइरहेको उच्च आयात तथा घट्दो रेमिट्यान्सका कारण विदेशी सञ्चिति घट्दै गएको देखिएको छ ।

    गत आर्थिक वर्षको अन्तिम महिनाको असार मसान्तमा अमेरिकी डलरको सञ्चिति ११ अर्ब ७५ करोड रहेको थियो । चार महिनाको अन्तरालमा अमेरिकी डलरको सञ्चितिमा १०.९ प्रतिशतले कमी आएको छ । यसरी १०.९ प्रतिशतले कमी आएर अहिले १० अर्ब ४७ करोड मात्रै अमेरिकी डलरको सञ्चिति कायम रहेको छ ।

    त्यस्तै, चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो एक महिनामा मात्रै ५१ करोड अमेरिकी डलरले विदेशी सञ्चिती घटेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । असोजमा सरकारसँग १० अर्ब ९८ करोड बराबरको डलर सञ्चिति थियो । राष्ट्र बैंकले अहिले भएको डलर सञ्चितिले ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने लक्ष्य राखेको छ ।

    त्यस्तै, नेपाली मुद्रामा डलर सञ्चिति असोजको तुलनामा कात्तिकमा ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको छ । असोजमा १३ खर्ब १९ अर्ब ३२ करोड रहेको डलरको सञ्चिति कात्तिकमा १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा मात्रै रहेको छ । चालु खाताको घाटा पनि एक महिनाकै बीचमा साढे ७१ अर्बले बढेको छ । असोजमा १ खर्ब ५१ अर्ब ७० करोड घाटामा रहेको चालु खाता कात्तिकमा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

    त्यस्तै मुलुकको व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा नै आयात १ खर्ब ७१ अर्ब ७७ करोडले बढेर साढे ६ खर्ब नाघेको छ भने व्यापार घाटा १ महिनामै १ खर्ब ५४ अर्ब ७० करोड रुपैयाँले बढेको छ ।

    प्रतिकृया दिनुहोस