• समाचार

    फोहोर सङ्कलन गरेरै मासिक ५० हजार कमाउँछन् रामनरेश

      ओमकार टाइम्स

    महोत्तरी, : महोत्तरी जलेश्वर–३ भिट्ठामोडका रामनरेश यादव । चोक–चोकमा फ्याँकिएका फलामका टुक्रा, सिसा तथा कवाडी सामानहरू बटुल्नु यादवको दैनिक दिनचर्या हो ।

    सौखिनहरूले पिएर फ्याकेका बियरका बोतल तथा सिसाहरू टिप्दा मान्छेले मान्छे गन्दैनन्, फलामका टुक्राहरू सहरका गल्लीगल्ली र गाउँका कुनाकुनामा खोज्दा कतिले मानसिक रोगी भन्छन् उनलाई । तर, कामको मूल्याङ्कन गर्ने समाजको हैसियतलाई गहन मूल्याङ्कन गरेर नै आफूलाई बेमतलवी ढङ्गबाट व्यतित् गरिरहेको उनी बताउँछन् ।

    धोक्राभरी पानीका बोतल तथा खिया लागेका फलामका टुक्रा बोकेर हिँड्दा कतिपय मानिसले यादवलाई कठै भनेर दया देखाउँछन् भने कतिपयले नेपालको गरिबी र नेताहरूको वैचारिक नियतिलाई धारे हात लगाउँछन् । तर, नरेशराय यादवलाई सहानुभूति देखाउने यी दुवैथरी संस्कार सकिएका दरिद्र जस्तो लाग्छ ।

    नेपालका कथित दरिद्रहरूको भिडले नै धेरै परिश्रमीहरूले कर्मलाई पहलायन बनाएका छन् । कुच्चो लगाउने, सरसफाइ गर्ने, कवाडी सामानहरू संकलन गर्ने, उर्बर बाँझो खेत खन्ने, खेत जोत्ने, जुत्ता पालिस गर्ने जस्ता कर्महरू पेसा नै होइन भन्ने खालको संस्कारलाई मलजल गर्दा समाजले नै बेरोजगार बनाएका युवाहरूलाई आफ्नै वरपर भएका कामले गिज्याइरहेको यादवको बुझाइ छ ।

    रामनरेश यादवले ६ वर्षअगाडि कवाडी संकलन केन्द्र महोत्तरीको रामगोपालपुरमा खोल्दा पनि समाजको उहीँ सहानुभूति थियो । अहिले धनुषाको ढल्केमा हुँदा पनी उही सहानुभूति छ । आफ्नो आर्थिक समस्यालाई यादवले बोक्ने कवाडीको धोक्रासँग सुकिलामुकिलाहरूले सन्तुष्टि लिँदै आएका छन् ।

    यादवको भाषामा कमजोर दृष्टिकोण भएका कथित दरिद्रहरूको छोरीको विवाह गर्दाको ऋण छ । छोराछोरी पढाउन हम्मेहम्मे छ । दिनहुँ साहुले ब्याज नदिएको भन्दै पीडा दिरहेको छ । पढेलेखेका बेरोजगार भएर भाँैतारिरहेका छन्, र पनि उनीहरूको कामप्रतिको दृष्टिकोण बदलिएको छैन ।

    आर्थिक हैसियतको कुरा गर्ने हो भने यादवले बोक्ने कवाडीको धोक्राले पारिवारिक खुसी दिएको छ । छोराछोरी राम्रै विद्यालयमा अध्ययनरत छन्, आर्थिक अभाव छैन ।

    तै पनि अभावमा बाँचिरहेकाहरूको दृष्टिकोण नरेश यादवहरूको पेसाको दया, सहानुभूति र तिरस्कार कै वरिपरि घुमिरहेको छ ।

    त्यसो भए के रामनरेश यादवको जस्तो कवाडी पेसा गरे कोही पनि बेरोजगार बन्नु पर्दैन त ? भन्ने प्रश्न पनि उठन सक्छ । तर, हरेक कामलाई सम्मान ढंगले हेर्ने संस्कारको विकास गर्ने हो भने काम आफ्नै वरिपरि छन् भन्ने प्रमाणित हुन्छ राम नरेशको पेसाबाट ।

    औसत युवा जस्तै रामनरेशले पनि १४ वर्ष कतारको मरूभूमिमा गुजारेका छन् । परिवार, समाजबाट टाढा भएर काम गर्नुको पीडा उनलाई मात्र हैन रोजगारका लागि परदेश पहलायन भएका हरेकलाई उस्तै छ । त्यहाँ जस्तोसुकै काम गर्न पनि पछि नपर्ने, तर स्वदेशमा त्यही काम गर्न लाज लाग्ने मनस्थितिको विकासले सामाजिक विकृतिका श्रृंखलाहरू स्वदेशमा छताछुल्ल बन्दै गएको यादवको अनुभव छ ।

    रामनरेशले दिनभरी कवाडी संकलन गरेर मासिक ५० हजार रुपैयाँसम्म कमाउछन् । तर, त्यही ५० हजार कमाउन दैनिक १५ सय युवाहरूको विमानस्थलमा लर्को छ । यो लर्कोलाई पनि समाजले हुर्काउँदै आएको गलत संस्कारले मलजल गरिरहेको छ ।

    यादव भन्छन्, ‘पेसालाई दया, सहानुभूति र तिरस्कारले हेर्ने सोचलाई परिवर्तन गरी सम्मानित पेसाको रुपमा स्थापित गराउने हो भने वैदेशिक रोजगारको नाममा मरूभूमिको तातो घाममा पिल्सनु पर्ने बाध्यतावाट धेरै युवाले मुक्ति पाउने थिए ।’

    प्रतिकृया दिनुहोस