• राजनीति

    बाबुरामको प्रचण्डप्रति कटाक्ष, कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने हो जस्तो बीउ रोप्यो उस्तै उम्रन्छ

      ओमकार



    काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् । दिनहुँजसो उनले समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गरिरहन्छन् । उनले फेसबुक र ट्विटरमार्फत नेपाली नेताहरूको कार्यशैली र सरकारी बेथितिबारे आलोचना पनि गर्ने गरेका छन् ।

    यसैक्रममा केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताबारे दिएको अभिव्यक्तिलाई लिएर बाबुराम र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कडा टिप्पणी गरेका छन् ।

     

     

    प्रचण्डले भनेका थिए, ‘म आफैँलाई कहिलेकाहीँ विडम्बना लाग्छ । हामीले रोपेको एउटा चिज थियो, उम्रिन अर्कै चिज खोजिराख्या छ ।’ उनले नेपालले अंगीकार गरेको संघीय प्रणालीबारे टिप्पणी गर्दै त्यसो भनेका हुन् ।

     

    ‘हामीले त जनताको घर दैलोमा नागरिकता, प्रशासन, मालपोत, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा समस्या हल गर्न तलसम्म जाऊँ भन्या त अहिले के भएछ भने जिल्लामा भएका कार्यालय झिकेर प्रदेशमा ल्याइयो वा अन्त लगियो । चार–पाँचवटा जिल्लाका निम्ति एउटा बनाइयो र झन् जनतालाई दुःख । जिल्लामै पाइने सेवाका लागि पनि अब कहाँ हो कहाँ जानुपर्ने,’ उनले भनेका थिए ।

     

     

     

    प्रचण्डले एउटा कार्यक्रममा बोलेको भिडियोको सम्पादित अंश मंगलबार सार्वजनिक भएपछि डा.भट्टराईले ट्विटरमा कटाक्ष गरे । संघीय गणतान्त्रिक नेपालको संविधान जारी हुँदासम्म प्रचण्डसँग सहयात्रा गरेका पूर्वप्रधानमन्त्री भट्टराईले राज्य पुनर्संरचना आयोगले पहिचानसहित १० प्रदेश सिफारिस गरेको अवस्थामा तत्कालीन नेकपा एमाले र नेपाली कांग्रेससँग सत्ता बाँडचुँड गर्न प्रचण्डले पञ्चायती शैली अपनाउँदै सात प्रदेश कायम गरेको भन्दै आलोचना गरे ।

     

    उनले लेखे, ‘कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने जस्तो बीउ रोप्यो त्यस्तै बिरूवा उम्रन्छ ! राज्य पुनर्संरचना समिति–आयोगले पहिचानसहित १० प्रदेशको संघीयताको बीउ सिफारिस गरेको थियो, तर तपाईंले एमाले र नेकासँग सत्ता बाँडचुँड गर्न पञ्चायती विकास क्षेत्र मोडेलको सात प्रदेशको बीउ रोप्नु भो ! ऐले त्यै फल्दैछ ! कसो ?

     

    भट्टराईको ट्विटको राप्रपा अध्यक्ष कमल थापाले प्रतिवाद गरिदिए । उनले विद्यमान असफलता प्रदेश संख्याका कारण नरहेको र नेपालले संघीयता धान्न नसक्ने हुँदा यसबारे जनमतसंग्रहमा जानुपर्ने भन्ने भावसहितको टिप्पणी गरे ।

    प्रतिकृया दिनुहोस