• देश

    पुजा गरेर थालियो त्रिभुवन विमानस्थलको स्तरोन्नति

      ओमकार


     

    चैत २० – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे (धावनमार्ग) स्तरोन्नति बुधबारबाट औपचारिक रुपमा सुरू भएको छ।पूजाआजा गरेर स्तरोन्नतिको काम सरूरु गरिएको हो।

    कार्यक्रममा विमानस्थलका अधिकारीहरु सहभागी थिए।सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको हो।धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन हुने विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

     

    स्तरोन्नतिको काम थालिएकाले दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलको भनाइ छ।यसअघि विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको थियो।त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक-पटक उप्किन्छ।हिउँदमा फाटफुट रुपमा उत्पन्न हुने यस्तो समस्या वर्षायाम लागेपछि निकै बढ्छ।चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पुर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो।यसपटक निकै जोखिम मोलेर नै सरकारले तल्लो सतहबाटै पिच फेर्न लागेको हो।

    धावनमार्ग स्तरोन्नतिको काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले पाएको छ।चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रनवे को स्तरोन्नति गर्ने छ।नागरिक उडड्ययन प्राधिकरणअन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकाइने छ।

    ७० दिनमा सकाउने लक्ष्य भएपनि प्राविधिक कठिनाइ आउनसक्ने आँकलनसहित थप २० दिन समयसीमा लम्ब्याइएको हो।

    प्रतिकृया दिनुहोस