• समाचार

    पत्रकार पुडासैनीले डोरी किनेको पसल भेटियो

     


    भरतपुर– चितवनको नारायणगढस्थित होटल कंगारुपमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीका अनुसार पत्रकार पुडासैनीले साउन २० गते नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट ५ मिटर डोरी किनेका थिए ।

    प्रहरीका अनुसार पुडासैनीले डोरी किनेको सीसीटिभी फुटेज नै फेला परेको छ । प्रहरीले उक्त पसलको सीसीटीभी फुटेज लिएर थप अनुसन्धान थालेको छ ।

    प्रहरीका अनुसार पुडासैनीले लुगा सुकाउनका लागि भन्दै पसलबाट ५ मिटर डोरी किनेर लगेको पसल सञ्चालकले बयान दिएका छन् ।

    ‘पसलबाट डोरी किनेको सीसीटिभी फुटेज नै भेटिएको छ, यससन्दर्भमा थप अनुसन्धान भइरहेको छ,’ चितवन प्रहरीका एक अधिकारीले खबरहबसँग भने, ‘भिडियो फुटेजमा उनी केही बेरसम्म पसलमा बसेको र पसल सञ्चालकले कामदारलाई डोरी दिन भनेर पुडासैनीले प्लास्टिकको झोलामा डोरी राखेर लगेको देखिएको छ ।’

    प्रहरीले गरेको सोधपुछका क्रममा सञ्चालकले लुगा सुकाउनका लागि भन्दै पुडासैनीले ५ मिटरजति डोरी मागेका थिए । तर, पसल सञ्चालक (महिला)ले यो होलसेल पसल हो, यहाँ ५ मिटर डोरी दिँदैनौ भन्दा पनि पुडासैनी अन्य पसलमा नगएको प्रहरी अधिकारीले जानकारी दिए ।

    ‘पसल सञ्चालकले होलसेल पसलमा ५ मिटर डोरी बेच्दैनौ भन्दा पनि उनी (पुडासैनी) अन्य पसलमा गएनन्, उनी त्यहाँ १० मिनेटभन्दा पनि बढी रोकिएपछि पसल सञ्चालकले अन्ततः ५ मिटर डोरी काटेर दिन कामदारलाई भनेको बयान दिएका छन्,’ खबरहबको सम्पर्कमा आएका चितवन प्रहरीका एक अधिकारीले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

    प्रहरीले सोही पसलबाट किनेको डोरीमा झुन्डिएर पुडासैनीले आत्महत्या गरेको जनाएको छ । ‘यस विषयमा अहिले पनि पूर्ण प्राविधिक रिपोर्ट आउन बाँकी छ, यद्यपि आत्महत्यामा त्यहि डोरी प्रयोग भएको देखिन्छ,’ ती प्रहरी अधिकारी भन्छन् ।

    पत्रकार पुडासैनीको शवको पोस्टमार्ट रिपोर्ट पनि अहिले प्रहरीकहाँ पुगिसकेको छ । यद्यपि पोस्टमार्टम रिपोर्टमा भएको विषय भने प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।

    प्रतिकृया दिनुहोस