• मुख्य

    यौन दुर्व्यवहारको आरोपमा तीन शिक्षकमाथि किटानी जाहेरी

      ओमकार टाइम्स

    मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका वडा नम्बर ८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका तीन जना शिक्षक विरुद्ध विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूले जिल्ला प्रहरी कार्यलयमा यौन दुर्व्यवहारको किटानी जाहेरी दिएका छन् ।
    घटना स्थानीय स्तरमै मिलाउन दबाब आइरहेको अवस्थामा विद्यार्थीका अभिभावकहरूले गएराति प्रहरीको सहयोगमा जिल्लामा प्रहरी कार्यलय मकवानपुरमा आएर जाहेरी दिएका हुन् ।

    कार्यलयका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार जनताका माविका ४ जना पीडित बालिका विद्यार्थीका ३ जना अभिभावकले किटानी जाहेरी दिएका हुन् । जनताका तीन जना शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा पीडितले किटानी जाहेरी दिएका हुन् ।

    विद्यालयमा घटना भएपछि उनीहरू हाल विद्यालयमा बिदा लिएर बसेका छन् । निमित्त प्रहरी प्रवक्ता दासले तीन शिक्षक विरुद्ध छात्राहरूलाई दुर्व्यवहार गरेको जाहेरी दर्ता भएको र शिक्षकहरूलाई पक्राउ गर्ने तयारी भइरहेको बताए ।

    तीन शिक्षकहरूले लामो समयदेखि छात्रा विद्यार्थीहरू माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै चैत्र २२ गते विद्यार्थीहरूले विद्यालय तोडफोड गरेका थिए ।

    विद्यार्थीहरूले आफूहरूलाई गलत नियतले छुने गरेको आरोप लगाएका छन्।

    निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक, विद्यालय व्यवस्थापन, राजनीतिक दलका प्रतिनिधिहरू बीच बैठक बसेको थियो ।

    बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीहरूले तोडफोड गरेका थिए ।

    विद्यालयमै विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ । पछिल्ला केही दिनदेखि विद्यालय बन्द रहेको छ ।

    प्रतिकृया दिनुहोस