• समाचार

    माओवादी संखुवासभाको आरोप : ‘कांग्रेसले उपेक्षा गर्यो, गठबन्धन गर्दैनौँ’

      ओमकार टाइम्स


    संखुवासभा । आगामी ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आरोपप्रत्यारोप सुरु भएको छ ।

    पाँच दलबीच गठबन्धन हुन नसक्ने निष्कर्षका साथ केन्द्र र प्रदेशका संयन्त्रलाई जानकारी गराउने निर्णय गरेर अलग भएका कांग्रेस र माओवादी केन्द्रबीच आरोप प्रत्यारोप सुरु भएको हो । दुवैले गठबन्धन नहुनुमा एक अर्कालाई दोष लगाउन थालेका छन् ।

    माओवादीले कांग्रेसको आन्तरिक कलह समाधान हुन नसक्दा जिल्लामा चुनावी गठबन्धन गर्न नसकेको आरोप लगाएको छ । निर्वाचनका लागि सत्तारुढ पाँच दलबीच गठबन्धन गर्ने कोसिस अन्ततः कांग्रेसका कारण सम्भव हुन नसकेको भन्दै जिल्लामा सहमति गर्न नसकिएको माओवादी जिल्ला अध्यक्ष टेकमान राईले आरोप लगाएका हुन् ।

    ‘२ बैशाखको बैठकमा सहभागी सबै दलको तर्फवाट आ–आफनो धारणा राख्ने काम भयो तर नेपाली कांग्रेसभित्र देखिएको चरम अन्तरकलह, गठबन्धन दलहरूबीच पालिकाहरूमा गर्ने बिषयमा भएको सकस र कांग्रेसबाट हाम्रो पार्टीलाई अति उपेक्षा र अबमुल्यन गरेको कारण यस जिल्लामा सहमति गर्न नसकिएको निष्कर्षमा पुगिएको हो,’ राईले प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त बिषयको जानकारी प्रदेश र केन्द्रको संयन्त्रलाई गराउने सहमति भएको साथै गठबन्धन भने नतोड्ने र अन्तिम विन्दुसम्म सहमतिको प्रयास गर्ने गरी बैठकबाट बाहिरिएलगत्तै कांग्रेसले एकतर्फी रुपमा माओवादीसँग गठबन्धन टुटेको घोषणा गरेको छ ।’

    आफ्नो दलभित्र उत्पन्न समस्या व्यवस्थापन गर्न र अन्य सहयात्री दलको अस्तित्वलाई स्वीकार्दै आवश्यक लचकता अपनाउनुको साटो कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्म विपरित एकपक्षीय रुपमा गठबन्धन तोडेको घोषणा गर्नु गैरजिम्मेवार निर्णय भएको माओवादी केन्द्रको भनाइ छ ।

    खाँदबारीमा चार दिनसम्म चलेको बैठकवाट स्थानीय तहको भागबन्डा गर्न नसकेपछि पाँच दलीय गठबन्धनको बैठक नै छाडेर माओवादी केन्द्र बाहिरिएको थियो । गठबन्धनको बैठकबाट बाहिरिएपछि कांग्रेस जिल्ला सभापति दीपक खड्काले संखुवासभामा गठबन्धन टुटेको घोषणा शुक्रवार गरेपछि माओवादीले शनिवार प्रेस विज्ञप्ति जारी गरेर प्रष्टिकरण दिएको हो ।

    प्रतिकृया दिनुहोस