• राजनीति

    कांग्रेसबाट विराटनगरको मेयरमा ७ र उपमेयरमा ११ जनाको नाम सिफारिस

      ओमकार टाइम्स


    विराटनगर — नेपाल कांग्रेस विराटनगर महानगर समितिले मेयरका लागि ७ र उपमेयरमा ११ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

    महानगर सभापति दिपक चापागाँईले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट विराटनगरको मेयर र उपमेयरका लागि सिफारिस गरिएको नामावली केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई बुझाएका छन् ।

    महानगरको मेयरका लागि कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, भीम पराजुली, जिल्ला उपाध्यक्ष नागेश कोइराला, महानगर सभापति दीपक चापागाँई, प्रदेश समिति सदस्य गोपाल रेग्मी र वर्तमान उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरिएको छ ।

    अघिल्लो निर्वाचनमा निर्वाचित मेयर पराजुली र उपमेयर इन्दिरा कार्कीको नामसहित महानगर समितिले सातजनाको नामावली केन्द्रीय कार्यालयमा बुझाएसँगै कसले टिकट लिने भन्ने दौडधुप सुरु भएको छ । महानगरका सभापति चापागाँईले विराटनगरमा कुनै पनि तालमेल वा गठबन्धन नगर्ने गरी ह्याभ्बीवेटहरुको नाम सिफारिस गरिएको जानकारी दिए ।

    उपमेयरका लागि ११ जनाको नाम प्रस्ताव
    विराटनगरको उपमेयरमा निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पङ्कज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।

    महानगर सभापति चापागाँईले भने, ‘विराटनगरमा कुनै पनि गठबन्धन र तालमेल नगर्ने सुझावसहित एकल निर्वाचनमा जानका लागि नामहरु सिफारिस गरेका छौं । अन्तिम नामको निर्णय गर्ने अधिकार केन्द्रीय कार्यालयलाई छ, त्यसले नाम टुङ्गो लगाएसँगै निर्वाचनमा होमिनेछौं ।’

    प्रतिकृया दिनुहोस