• समाचार

    त्रिवि परिषद्ले तोक्यो यौनहिंसासम्बन्धी उजुरी सुन्‍ने अधिकारी

      ओमकार टाइम्स

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयभित्र अथवा क्याम्पस संस्थान परिसरभित्र कर्मचारी वा अध्ययनरत विद्यार्थीहरूमाथि हुने यौनजन्य दुर्व्यवहारको उजुरी सुन्‍न त्रिवि कार्यकारी परिषद्ले सुनुवाई अधिकारी तोकेको छ ।

    त्रिवि कार्यकारी परिषदको २०७८ साल चैत २५ गते बसेको बैठकको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय वा यसको परिसर वा क्याम्पस, अनुसन्धान केन्द्र, अध्ययन संस्थान, संकाय वा यसअन्तर्गतको परिसरभित्र कसैलाई यौनजन्य दुर्व्यवहार गरेमा वा गराएमा उजुरी सुन्ने अधिकारीको रुपमा सम्बन्धित निकाय प्रमुखलाई र केन्द्रीय कार्यलयको हकमा शिक्षाध्यक्षलाई उजुरी सुन्ने अधिकारीको रूपमा तोकेको त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

    महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरूपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार जस्ता कार्य गरे पीडित कर्मचारी, सेवाग्राही वा निजका तर्फबाट जोसुकैले त्यस्तो व्यक्तिउपर व्यवस्थापक समक्ष १५ दिनभित्र लिखित वा मौखिक गुनासो गर्न सक्नेछ र त्यस्तो गुनासो परेमा व्यवस्थापकले सो सम्बन्धमा तुरुन्त छानबिन गर्नेछ ।

    यस्तै दोषीलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन २०७१ अन्तर्गत कारबाही हुने निर्णय भएको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस