• अर्थ

    तस्करको हातमा सुपारी, नेपाली किसान चिन्तित

      ओमकार

     

    बिर्तामोड : झापा अर्जुनधारा नगरपालिका ८ का कृषक दिपेन्द्र ढकालको सबै जमिन सुपारीले ढाकेको छ। सबै सुपारीले उत्पादन पनि दिन थालेको छ। ढकालको खेती सरकारले घोषणा गरेको सुपारी जोन क्षेत्रमै पर्छ। तर, उनी भने आफैंले बारीमा उत्पादन गरेको सुपारी निर्धक्क भएर बजारमा लगेर बिक्री गर्न सक्दैनन्।

    अघिल्लो वर्षमात्र आफैंले उत्पादन गरेको सुपारी ट्रकमा हालेर बिर्तामोड बजारमा बिक्री गर्न लैजाँदा बीचबाटोमै प्रहरीले चेक गरी सुपारी तस्कर हो ? कहाँबाट ल्याएको ? कहाँ लैजान लागेको ? आफैंले उत्पादन गरेको वा आफू सुपारी कृषक हो भन्ने के प्रमाण छ ? जस्ता प्रश्न सोधिएको ढकालले बताए। त्यसैले बजार जान र आफैं बिक्री गर्न आफूले मन मार्नु परेको उनी बताउँछन्।

    ‘सुपारी खेती गरियो, बिक्री पनि हुन्छ तर बजार लैजाँदा सुपारी बेच्नेलाई तस्करलाई गर्ने व्यवहार गरिन्छ, विभिन्न हैरानी खेप्नुपर्छ’, उनी गुनासो गर्छन्। अहिले उनी सुपारी पाक्ना साथ बोटमै खरिद गर्न आउने व्यापारीलाई सस्तो मुल्यमा बिक्री गर्छन्। व्यापारी पनि भारतीय नै बढी आउने गरेको उनको भनाइ छ।

    झापाको अर्जुनधारा, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सबैभन्दा बढी सुपारी खेती हुन्छ। यस क्षेत्रमा सुपारी नभएको घर कमै छन्, स्थानीय केहीले व्यावसायिक रूपमा सुपारी खेती गरेका छन् भने केहीले एक÷दुई दर्जन बोटलाई आयस्रोतको माध्यम बनाएका छन्।

    झापा सबैभन्दा बढी सुपारी उत्पादन हुने जिल्ला भएकाले सरकारले दुई नगरपालिका र एक गाउँपालिकालाई समेटेर सुपारी जोन कार्यक्रमका लागि बजेट विनियोजन गरी काम अघि बढाएको पनि छ। तर झापाका सुपारी कृषक र व्यवसायी भने जिल्लामा उत्पादन भएकै सुपारीले बजार नपाउँदा चिन्तित बनेका छन्।

    ‘केही भारतीय व्यापारी आउँछन्, उनीहरूले तोकेको मुल्यमा नदिए बिक्री हुँदैन, नेपाली व्यापारीले धेरै खरिद गर्दैनन्, उत्पादन गरे पनि बजार छैन’, अर्जुनधारा नगरपालिकाका सुपारी कृषक सैलेश लिम्बुले भने। केही समयअघिसम्म सुपारीको बजार राम्रो थियो अहिले सुपारी बिक्री गर्न नै कृषकलाई समस्या छ। २०५० सालभन्दा अघिदेखि नेपालमा सुपारीको कारोबार सुरु भएको थियो ।

    नेपालका सीमावर्ती सहरहरूमा यो व्यापार बढी केन्द्रित बन्यो । विगतमा सुपारीको कारोबार खुलेआम थियो । भारतीय व्यापारीहरू खरिदका लागि झापा आउँथे । भन्सार नाकाबाटै खुलेआम मेची नदी तार्थे । ‘सुपारी खरिद बिक्रीका लागि भारतीय व्यापारीको ‘मेला’ नै लाग्थ्यो, अहिले त्यस्तो छैन’, काँकडभिट्टाका स्थानीय हरि न्यौपाने भन्छन्।

    सबैभन्दा बढी सुपारीको व्यापार हुने काँकडभिट्टाको एउटा क्षेत्रको नाम नै ‘सुपारी लाइन’ छ । ‘यो स्थानबाट पहिले सुपारी खुलेआम व्यापार हुन्थ्यो अहिले लुकीचोरी हुन्छ’, एक स्थानीय भन्छन्। सुपारी लामो समयदेखि प्रहरी प्रशासनको बिना कुनै अवरोध कारोबार भइरहेको थियो।

    बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सुपारी व्यापारलाई कडाइ गरेको हो। २०६८ माघ २१ देखि नेपालले सुपारी भारतमा बिक्री गर्न कडाइ गरेपछि नेपालका कृषक मर्कामा परेका हुन्। नेपाल सुपारी खेती विकास संस्थाले अनुमति पत्र ‘उत्पत्तिको प्रमाणपत्र’ दिएरमात्र निकासी गर्न पाउने प्रावधानले सुपारी निकासीमा समस्या सुरु भएको हो।

    सन् १९५० को नेपाल–भारत वाणिज्य सन्धिमा तेस्रो देशबाट आयातीत कुनै पनि वस्तु भारत निर्यात गर्न नेपाललाई छुट छैन । तर तेस्रो देशबाट आएको सुपारी लुकीचोरी अझै भारत नै पठाइन्छ । मलेसिया, थाइल्यान्ड, इन्डोनेसियाजस्ता मुलुकबाट नेपाल भित्रिने सुपारी नेपालको भन्दै व्यापारीले भारत पठाउने गरेकाले नेपालले सुपारीमा कडाइ गरेको थियो। कडाइ गरे पनि अहिले तस्करी शैलीमा धेरै सुपारी भारत पुग्छ।

    मेची बगर र पुलमाथि अहिले पनि भारतीय सुपारी केरियरहरूको घुइँचो देखिन्छ । ‘विगतमा ठूलो परिमाणमा जान्थ्यो’, मेची भन्सारका पुराना कर्मचारीले भने, ‘अहिले चाहिँ परिमाण घटेको छ, तर जाने क्रम रोकिएको छैन ।’

    सुपारी तस्करी नियन्त्रणलाई लक्षित गर्दै २०६८ पछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नेतृत्व पहिलोपल्ट नायब उपरीक्षक (डीएसपी) लाई दिइएको थियो । तर अझै प्रहरीले प्रभावकारी काम गर्न सकेको देखिँदैन। ‘जनशक्ति थोरै छ, रात दिन सुपारी तस्कर खेदाउन कै लागि प्रहरी परिचालन गरिए पनि रोकिँदैन’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी महेश थापाले बताए। पूर्वको मेची, विराटनगर, वीरगन्ज र भैरहवा भन्सार नाकावाट वार्षिक अर्बौं रुपैयाँको सुपारी तस्करी÷पैठारी हुन्छ।

    दुई वर्ष अघिदेखि सुपारी निर्यात गर्ने अनुमति पत्र ‘उत्पत्तिको प्रमाणपत्र’ पाउने विषयलाई लिएर सुपारी संस्थाहरूको विवादका कारण भन्सारबाट वैधानिक रूपमै निकासी हुने सुपारी पूर्ण रूपमा रोकिएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल बताउँछन्।

    यसअघि झापामा उत्पादन भएको सुपारी भारतमा बिक्री गर्न नेपाल सुपारी खेती विकास संस्थाले अनुमति पत्र ‘उत्पत्तिको प्रमाणपत्र’ दिएपछि मात्र निकासी हुने प्रावधान थियो। अहिले उत्पत्तिको प्रमाणपत्र एकाधिकार ढंगले दिएको भन्दै संस्थाको विवाद सर्वोच्च अदालतसम्म पुगेपछि झापामा उत्पादित सुपारी भारत निकासी ठप्प छ। उत्पत्तिको प्रमाणपत्रबिना भारत निकासी गर्दा व्यापारीले तेस्रो देशबाट ल्याएको सुपारीमात्रै भारत लैजाँदा नेपाली सुपारी कृषक समस्यामा परेका थिए।

    प्रमाणपत्रको व्यवस्थापछि केही समय नेपाली सुपारीले भारतीय बजार पाए पनि अहिले ठप्प हुँदा सबै सुपारी भारतीय तस्करको हातमा परेको छ। ‘व्यवसायी तेस्रो देशबाट ल्याइएकै सुपारीको कारोबारमा व्यस्त छन्, हाम्रो सुपारी नबिकेर बर्सेनि कुहिने अवस्था छ’, अर्जुनधाराका कृषक राधेश्यम न्यौपाने भन्छन्। झापाको बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे, अर्जुनधारा, खुदुनाबारीलगायत झापाका उत्तरी क्षेत्र सुपारी खेतीका लागि प्रख्यात मानिन्छन्।

    नेपालमा उत्पादन हुने काँचो सुपारी कूल उत्पादनको करिब २० प्रतिशत मात्रै स्वदेशमा खपत हुने र बाँकी ८० प्रतिशत विभिन्न बाटोबाट भारत निकासी हुँदै आएको छ। नेपालमा उत्पादित काँचो सुपारीलाई कृषकले आफ्ना विभिन्न प्रशोधन केन्द्रमा प्रशोधन गरी भारत निकासी गर्ने गरेको सुपारी व्यवसायीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस