• समाचार

    मोरङको कानेपोखरीमा काँग्रेसभित्र कारबाहीको होड

      ओमकार टाइम्स

    नेपाली काँग्रेसमा गत स्थानीय निर्वाचनमा भएको पराजयको विषयलाई लिएर कारबाहीको होडबाजी चलेको छ । मोरङस्थित कानेपोखरी गाउँ कमिटीले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाहीको सिफारिस गरेको थियो ।काँग्रेसको कानेपोखरी गाउँ कमिटीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, काँग्रेसका महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाइ र कानेपोखरी गाउँपालिका उपसपभाति भानु फुयाललाई कारबाही सिफारिस गरेको थियो ।

    निर्वाचनमा कानेपोखरी गाउँपालिकाको अध्यक्षमा पार्टीका आधिकारिक उम्मेदवार सञ्जय भट्टराईलाई उनीहरुले असहयोग गरेको ठहरका साथ कारबाहीको सिफारिस गरिएको थियो । कानेपोखरी गाउँ कमिटीको नेतृत्वमा काँग्रेसको संस्थापन इतर पक्ष छ भने कारबाहीको सिफारिस गरिएकाहरु संस्थापन पक्षका हुन् ।

    पार्टीको गाउँ कमिटीको उक्त निर्णयपछि संस्थापन पक्षले वडा समितिबाट सभापति सहितका नेतालाई हटाउने निर्णय गर्न थालेको छ । नेपाली काँग्रेस कानेपोखरी गाउँपालिकाको २ नम्बर वडा समितिले पार्टीबाट वडा नम्बर २ का  उम्मेदवारलाई हराउन विपक्षी पार्टीसँग साँठगाँठ गरेको भन्दै गाउँपालिकाका अध्यक्षका उम्मेदवारसहित ५ जनालाई कारबाहीको सिफारिस गरेको छ ।कारवाहीको सिफारिसमा परेकाहरूमा मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार एवम् नेपाली काँग्रेस प्रदेश १ का सदस्य सञ्जय भट्टराई, नेपाली काँग्रेस मोरङ ३ (क) का सचिव हिमप्रसाद तिम्सिना, नेपाली काँग्रेस कानेपोखरी गाउँपालिकाका सभापति योगेन्द्रप्रसाद दाहाल, नेविसंघ मोरङका पूर्व कार्यवाहक सभापति फडिन्द्र निरौला र नेपाल तरुण दल कानेपोखरी २ का सभापति अर्जुन खत्री छन् ।

    उनीहरू पाँचै जनाले २ नम्बर वडाका अध्यक्षका उम्मेदवार गोपाल खड्कालाई हराउन नेकपा एमालेसँग साँठगाँठ गरेको संस्थापन पक्षको आरोप छ । काँग्रेसका २ नम्बर वडा समिति सभापति बमबहादुर पौडेल, प्रचारप्रसार समितिका संयोजक बिनोद बोहोरा र वडाध्यक्षका उम्मेदवार गोपाल खड्काले संयुक्त हस्ताक्षर गरी मोरङ काँग्रेसलाई कारबाहीको सिफारिस गरेको हो । कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेलाई टिकट नदिएपछि काँग्रेसभित्र एकाएक माओवादीसँग हुन लागेको गठबन्धन टुटेको थियो ।

    एमालेसँग भट्टराईको कनेक्सन आरोप
    एमालेले राजमति इङ्नाम र भोला अधिकारीलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएपछि एमालेको असन्तुष्ट पक्ष र काँग्रेस उम्मेदवार सञ्जय भट्टराईबीच सुनसरीको तरहरास्थित एउटा सेकुवा कर्नरमा भद्र सहमति भएको काँग्रेसको एउटा पक्षको आरोप छ ।

    उक्त सहमति अनुसार एमालेको असन्तुष्ट पक्षले वडा नंं. २ बाट काँग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईलाई २ हजार मत सहयोग गर्ने त्यसबापत काँग्रेसले एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका सुशील बुढाथोकीलाई सकेसम्म जिताउनका लागि सहयोग गर्ने र काँग्रेसबाट उम्मेदवार रहेका गोपाल खड्कालाई हराउने उद्देश्य थियो ।

    दुई चरणमा भएको वार्तामा काँग्रेसका तर्फबाट स्वयं गाउँपालिकाका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराई र अर्का एकजना भट्टराई थरका नेता सहभागी रहेको बताइएको छ । एमालेका तर्फबाट असन्तुष्ट पक्षका तीन जना नेता रहेको बताइए पनि नाम उल्लेख गरिएको छैन ।

    सहमति भएको कुरालाई काँग्रेसका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईले गत जेठ ८ गते बिहान स्वीकार गरिसकेका छन् । वडाध्यक्षका पराजित उम्मेदवार गोपाल खड्कालाई विराटनगरस्थित आफ्नै निवासमा बोलाएर भट्टराईले कम्युनिस्टको आश्वासनमा परेर गलत निर्णय गरेको बताइसकेका छन् ।

    खड्काले भने, ‘उहाँले गल्ती स्वीकार गरिसक्नु भयो । अब किन कारबाहीको सिफारिस नगर्ने ?’ त्यतिमात्र होइन, खड्कालाई हराउनका लागि भट्टराईले एमाले उम्मेदवार सुशील बुढाथोकीलाई नगद ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको समेत खुलासा भएको छ । समाचार स्रोतका अनुसार उक्त ३ लाख रुपैयाँ नेपाली काँग्रेस मोरङ ३ (क)का सचिव हिमप्रसाद तिम्सिनाले बुढाथोकीका प्रतिनिधिलाई हात लगाएका थिए ।

    २८ गते राति भट्टराईले आफ्ना विश्वासपात्र हिमप्रसाद तिम्सिनालाई पैसा दिएर एमाले उम्मेदवारलाई हात लगाइदिन उर्दी गरेपछि सोही राति दलेलीमा पैसा बुझाउने र बुझ्नेबीच झडप भएको थियोे । काँग्रेस गाउँ सभापति योगेन्द्र दाहालसमेत खड्कालाई हराउन रातभर सक्रिय रहेको काँग्रेसका वडा सभापति बमबहादुर पौडेल बताउँछन् ।

    २८ गते राति सञ्जय भट्टराई र योगेन्द्र दाहाल पक्षीय नेताहरू गोपाल खड्कालाई हराउन पैसा बाँड्ने अभियानमा थिए । उक्त अभियान रोक्न गोपाल खड्का समूहले प्रयास गर्दा पार्टी सभापति दाहाल, पथरी प्रहरीका डिएसपी वेदप्रसाद गौतम र मोरङ ३(क) का प्रदेश सभा सदस्य सूयर्माराज राईले ‘काँग्रेसहरू कोही पनि बाहिर ननिस्किनु, बाहिर निस्किँदा हुन सक्ने दुर्घटनाको जिम्मा आफै लिनु’ भनेर फोन गरेका थिए ।

    दाहाल र सांसद राईले नै खड्काविरुद्ध पैसा बाँड्ने अभियान चलाउन एमालेलाई प्रहरीको सहयोग जुटाइदिएको खुलेको छ । यद्यपि सांसद राईले उक्त फोन बाहेक अरू कुनै गतिविधि नचलाएकाले कारबाहीको सिफारिस नगरिएको वडा समितिको भनाइ छ ।

    उता नेविसंघका पूर्व कार्यवाहक सभापति फडिन्द्र निरौलाले खड्कासँग काँग्रेसको प्रचार प्रसार गर्न नगद लिएका थिए । नगद लिएपछि काँग्रेसका क्रियाशील सदस्यहरूको घरघर पुगेर उनले खड्काविरुद्ध भ्रम छरेको बताइएको छ । निरौलालाई तरुण दलका वडा सभापति अर्जुन खत्रीले भरथेग गरेका थिए ।

    प्रतिकृया दिनुहोस