• विदेश

    भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि

      एजेन्सी

    भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८९९ जना सङ्क्रमित भएका छन् । शनिबार मध्यराति अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिना पछिको नै धेरै हो । भारतमा गत बुधबारबाट सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

    यसैवर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए ।  भारतमा शनिबार १२ हजार ८९९ जना कोरोना सङ्क्रमित थपिएपछि भारतमा सन् २०२० को मार्चबाट शुरु भएको कोरोना सङ्क्रमितको कुल सङ्ख्या चार करोड ३२ लाख ९६ हजार ६९२ पुगेको छ ।

    यसमध्ये ७२ हजार ४७४ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१७ प्रतिशत हो ।  पछिल्लो एक दिनमा आठ हजार ५१८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्  । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ९९ हजार ३६३ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६२ प्रतिशत रहेको छ ।

    कोरोना महामारीबाट बिहीबार भारतमा १५ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २४ हजार ८३० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ । भारतमा  सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड १४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । भारतमा हिजो शनिबार चार लाख ४६ हजार ३८७ जनाको कोरोना परिक्षण भएको बताइएको छ । यसैसँग भारतमा कोरोना शुरु भएबाट हालसम्म ८५ करोड ७८ लाख जनाको कोरोना भाइरस परिक्षण भएको बताइएको छ ।


    प्रतिकृया दिनुहोस