• मनोरञ्जन

    ‘चिसो मान्छे’ कति न्यानो ?

      ओमकार टाइम्स

    कथा त जे पनि हुनसक्छ ! जस्तो पनि, जहाँको पनि हुनसक्छ । तर, सर्जकले त्यसको ट्रिटमेन्ट कसरी गर्‍यो, त्यसले नै कथाको शक्तिको ओज नापिदिन्छ । स्रष्टाले कथाको डिजाइन कसरी ग¥यो, त्यसले नै कथामा सौन्दर्य थपिदिन्छ ।

    कथा भएर मात्रै हुँदैन, त्यसलाई भन्न जान्नुपर्छ । त्यो कथालाई बुन्न जान्नुपर्छ । त्यो कथालाई प्रस्तुत गर्न जान्नुपर्छ ।

     

    अहिले हलहरूमा एक कथा चलिरहेको छ, दीपेन्द्र के खनालकृत ‘चिसो मान्छे’ । पोस्टरबाटै चर्चामा आएको ‘चिसो मान्छे’को पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का नाकमा बुलाकीको साथमा पोते, चौबन्दी, पुरानो झोलासँग थिइन् । कतै यात्रामा निस्किएजस्तो देखिने महिलाको पोस्टर चर्चामा आएको थियो । चर्चा यस कारणले पनि थियो कि ‘ग्ल्यामरस’ छवि बनाएकी स्वस्तिमाको सुदूरपश्चिमेली महिलाको अवतार थियो पोस्टरमा ।

    पोस्टरपछि ट्रेलर आयो । ट्रेलरले दर्शकमा रुचि र चासो थपिदियो । साथै प्रतीक्षित फिल्मको सूचिमा दर्ज पनि भइदियो । अहिले दर्शकको प्रतीक्षाको समय सकिइसकेको छ । हलहरूमा दर्शकहरूले ‘चिसो मान्छे’को न्यानो कथाको परख गरिरहेका छन् ।

    ‘चिसो मान्छे’मा एक ‘चिसो’ मान्छे बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् । खाडीबाट आइपुगेको त्यो बाकस लिन मृतककी श्रीमती पुष्पा (स्वस्तिमा खड्का) र मृतकका बाबु(देशभक्त खनाल) पुगेका छन् । उनीहरूको साथमा पिक अप भ्यान लिएर अशोक थापा (अर्पण थापा)पुगेका छन् ।

    तीनै पात्रको आ–आफ्नै कथा र मनोदशा छन् । वर्तमान भने एकै छ । कोरोना महामारीले कुल्चेको मानवतामाथि उनीहरू दुःखको अमिलो यात्रामा निस्किएका छन् ।

    सानैदेखि गायिका हुने सपना बोकेकी फूलजस्ती पुष्पा पत्थरभन्दा जब्बर यथार्थबाट छुटकारा खोजिरहेकी छन् । श्रीमान् विदेशबाट कफिनमा आएको छ, तर त्यो कफिनसित पुष्पाको कुनै अपनत्व छैन । त्यो कफिनसँग जोडिएको केही छ भने दुई पोया पोते छ । त्यो पनि यात्राको बीचकै चुँडालेर फाल्छिन् ।

    कान्छो छोरोलाई सशस्त्र द्वन्द्वको वेला गुमाएका ससुरोको जीवनको गति आफ्नै छ । दुःखले निचोरेका उनका आँसु शरीरभित्र रक्सी भिजेपछि मात्रै बाहिरिन्छ । पिक अप भ्यान चालक अशोकसित छ महिने छोरी छे । श्रीमतीलाई कोभिडका कारण गुमाएको धेरै भएको छैन । कुखुरा पालक उनी त्यो व्यवसाय छाडेर गाडी चलाइरहेका छन् । मास्टर्स सकेका अशोकलाई दुःखले लखेटिरहेको छ । दुःखले भन्दा बेस्सरी लखेटेको छ बैंकको ऋणले ।

    कफिनभित्रको चिसो लासलाई साक्षी राखेर तीन पात्रले भन्ने आ–आफ्नो कथाको सिलसिला हो ‘चिसो मान्छे’ । काठमाडौंबाट बाजुरासम्मको रोड–कथा हो ‘चिसो मान्छे’ । फुस्रा पहाडबीचको रोडमा कुद्दै ग्रे–जोनमा बाँचिरहेका पात्रहरूले भन्ने कथा हो ‘चिसो मान्छे’ ।

    निर्देशक खनालको ‘पशुपतिप्रसाद’लाई दर्शकले औधी रुचाइदिए । ‘आमा’लाई पनि रुचाइदिए । ‘आमा’पछि आएको ‘चिसो मान्छे’लाई पनि रुचाइरहेका छन् । खनालको यी तिनै फिल्मलाई एक ठाउँमा राखेर हेर्ने हो भने उनी समाजका गम्भीर विषयहरूमाथि दृश्य भाषाको माध्यमबाट काम गर्न चाहन्छन् । त्यस्ता विषयमा खेल्न आइपुग्ने राजनीतिक, निहित स्वार्थहरूलाई केलाउन चाहन्छन् । ती विषयउपर चल्ने मानवीय संवेगहरूलाई छाम्न चाहन्छन् । ती विषयमाथि ठूलो गडगडाहटसहित बग्ने÷बगाउने दुःखहरूलाई क्यामेराको लेन्सले हेर्न चाहन्छन् ।

    तर, खनालले जति राम्रो विषय उठान गर्दै लैजान्छन्, उति नै मसिनो गरी कथा भन्नबाट चुके झैँ महसुस गराउँछन् । घरीघरी त लाग्छ कि उनी कथाको सतह मात्रै उप्काउँछन् । तर, बीउ नै रोप्न त गहिरो गरी माटो खनेर गाड्नुपर्छ । ‘पशुपतिप्रसाद’मा खास सुन व्यापारीलाई छाडेर असनको नेवारलाई अमानवीय र ठग देखाइएको दृश्य होस् या ‘चिसो मान्छे’मा कफिनभित्रको लासलाई काठको मुढाजस्तो ठानिएको दृश्य होस्, उनी बेलाबेला कथालाई बलियो गरी भन्नबाट चुक्छन् ।

    ‘चिसो मान्छे’को कथा कफिनभित्रको लासको गोहो समातेर अगाडि बढ्छ । त्यो लाससँग पुष्पाको छुट्टै सम्बन्ध छ । त्यो लाससँग बुवाको छुट्टै साइनो छ । त्यो लाससँग गाडी चालक अशोकको छुट्टै सम्बन्ध छ । त्यही लासले गर्दा अशोकले किस्ता तिर्ने सोचेका छन् । तर, फिल्ममा सबैका लागि लास एकै हो जस्तो देखाइएको छ । सबैका लागि त्यो लास एकै पक्कै होइन । हरेक पात्रहरूको आ–आफ्नै उद्देश्य र साइनो छ लाससँग ।

    जीवित हुँदा श्रीमान्को काँधमा राम्रोसँग निदाउन नपाएकी पुष्पाका लागि कफिन के हो ? एउटा छोरो गुमाएपछिको अर्को छोरोलाई कफिनमा भेटिरहेका बाका लागि कफिन के हो ? पैसाका लागि काठमाडौं–बाजुरा यात्रा गर्नुपर्ने अवस्था ल्याइदिने कफिन अशोकका लागि के हो ? यस्ता प्रश्नहरूको उत्तर सगोलमा र एउटै फ्रेममा भन्न खोज्दा कथा जसरी भन्नुपर्ने हो, त्यसरी नभनिएको हो कि झैँ लाग्छ ।

    पुष्पाको श्रीमान्सितको सम्बन्ध राम्रो थिएन पक्कै । जुन लास बोकेर फिरिरहेकी थिइन्, जिउँदो हुँदा पनि लासजस्तै नै थियो श्रीमान् । तर, त्यो कथा भन्न कतै छुट्यो । बुवाको ‘छोरी’ बनाएर पुष्पालाई राख्ने वचन र छाउपडीमा उनैले पुष्पालाई पुर्‍याएको कथा पनि कतै छुट्यो । बुवाको छोरोसितको सम्बन्धको फ्रेम पनि फिल्ममा छुटेको छ । चिसो लासलाई लास नबनाएर ‘मुढो’ हो कि झैँ बनाउँदा निकै गहिरो संवेदनाहरू त्यतै कतै सिनहरूभित्र पो छुट्यो कि !

    फिल्ममा निर्देशक खनालले पछाडिको कथा दृश्यमा नभनेर वर्तमानमै कथालाई सकाउने प्रयोग पनि गरेका हुन सक्छन् । उनले यदि वर्तमानमै कथा सकाउन चाहेको हो भने फिल्ममा उनकै सिनेम्याटोग्राफीले खुब सहयोग गरेको पनि छ । तर, कथा अझैँ बलशाली तवरले भन्नका लागि कति ठाउँहरूमा मसिना प्वालहरू टालटुल नगरी फिल्म अगाडि बढेको पनि सत्य हो ।

    डोटेली भाषाको उच्चतम प्रयोग सुन्दर लाग्छ । कमसेकम हामीले जुन भाषालाई राष्ट्रिय भाषा भनिरहेका छौँ, त्यही भाषी दर्शकलाई यही मुलुकमा फरक भाषा पनि छ है भनिएको छ । सब–टाइटल नराखेर खनालले जोखिम मात्रै उठाएका छैनन्, त्यसले अन्य मातृभाषी आदिवासीलाई पनि न्याय गरिदिएका छन् । सधैँ नेपाली भाषामै मात्रै सबै कुरा नभनिँदा पनि सुन्दर फिल्म बन्छ भनेर प्रमाणित गरेका छन् ।

    फिल्ममा अर्पन थापालाई मास्टर्स सकेको बताइएको छ । बीचमा संस्कृत श्लोक भट्याएर आफू पढेको प्रमाणित पनि गर्छन् । तर, साधारणतया बुझ्य भाषामा सवारी चालक अलि फरक हुन्छन् । उनीहरू रसिक मात्रै हुँदैनन्, आफ्ना यात्रुहरुको मनोविज्ञान केलाउने भन्दा पनि उनीहरूसँग अधिक जसो संवाद गर्ने खालका हुन्छन् ।

    फिल्ममा खनालले सबैभन्दा सुन्दर चाहिँ क्यामेरा चलाएका छन् । गाडीको रातो बत्तीमा तीन पात्रमध्ये अशोकलाई चाहिँ आधा लाइटमा मात्रै पारिएको सटहरू होउन् या अन्त्यमा लास बोकिरहेका पात्रहरूलाई ब्लर गर्दै सुरु गरिएको सट होस् । खनालले ‘आमा’मा भन्दा यस फिल्ममा क्यामेरा र लाइटहरूलाई औधी सुन्दर तरीकाले चलाएको पक्कै हो ।

    लामा लामा सटहरूबाट धेरै कुरा भन्न खोजेका छन् । फिल्मको समाप्ति पनि ओपन राखेका छन् । बाँकी कथा दर्शकलाई नै छाडिदिएका छन् । लाग्छ, खनाल अब्बल निर्देशक मात्रै होइनन्, अब्बल दर्शक पनि हुन् । दर्शकले के चाहन्छन् होइन, दर्शकलाई के दिन सकिन्छ ताकि उनीहरूले मनोरञ्जन मात्रै नलिउन् भनेर ‘चिसो मान्छे’मा प्रयत्न गरेका छन् ।

    मौलिक कथालाई सुन्दर र कलात्मक तवरले भनिरहेका खनालले फिल्म मात्रै पक्कै बनाइरहेका छैनन् । दर्शकलाई राम्रो फिल्म हेर्ने बानी पनि बसालिरहेका छन् । खनालहरूको यस्तै प्रयासहरूले अन्ततः हाम्रै सिनेमा लिटेरेसी बढेर जाने हुन् ।

    प्रतिकृया दिनुहोस