• मुख्य

    हेर्नुस् ओलीले यसरी झुक्याए जनता, अनौठो गर्दैछ ‘पानीजहाज कार्यालय’ !

      ओमकार


    For advertisement:

    [email protected]



    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालले आफ्नो पानीजहाज किन्ने र नेपालभित्रै सञ्चालनमा ल्याउने गफ दिएको खुबै सुनिन्छ । केही महिनाअघि प्रधानमन्त्री ओलीले ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय उद्घाटन समेत गरे ।

    ओलीले उद्घाटन गरेको त्यो पानीजहाज कार्यालयले तत्कालै पानीजहाज सञ्चालनमा ल्याउने छाँटकाँट देखिँदैन । ओलीको पानीजहाज कार्यालय वर्षाैदेखि सञ्चालनमा रहेका डुंगा दर्ता गर्ने अड्डामा परिणत हुने देखिएको छ ।

    पानीजहाजको कार्यालय सञ्चालनमा आएको डेढ महिनापछि रजिस्ट्रारको रुपमा ऋषिराज कोइरालाले जिम्मेवारी पाएका छन् । गत आईतबारदेखि पानीजहाज कार्यालयमा रजिस्ट्रारको जिम्मेवारी सम्हालेका कोइराला पानीजहाज सञ्चालनमा ल्याउन नीतिगत सुधार आवश्यक भएको छ ।

    तत्कालीन सरकारले ल्याएको ४८ वर्षअघिको ऐन भएकाले समयसापेक्ष बनाउन परिमार्जित गर्न थालेको कार्यालयका सिनियर डिभिजन इन्जिनियर विपिन भण्डारीले बताए ।

    प्रधानमन्त्री ओलीले पानीजहाज कार्यालयको उद्घाटनका क्रममा भनेका थिए, ‘भारतका ठूला नदी र समुन्द्रको टाउकोमा बसेर हामी भूपरिवेष्ठित भनेर खुम्चनु हुँदैन ।’ उनको भनाइको अर्थ थियो, पानीजहाज समुद्रमा मात्रै चल्दैन ।

    नेपालमा प्रशस्त मात्रामा पानी रहेको र यो पानीलाई भरपुर प्रयोग गरी पानीजहाज सञ्चालनमा ल्याउने कुरा तीव्रताका साथ अघि बढ्ने पानी जहाज कार्यालयका कर्मचारीको विश्वास छ ।

    पानीजहाज भन्नासाथ समुन्द्रमा चल्ने र फिल्ममा हेर्ने ठूला जहाज मात्र नभएको बताउँछन् इन्जिनियर भण्डारी । ‘पानीजहाज भन्नासाथ पानीमा चल्ने ससाना डुंगादेखि सबै पर्छ,’ उनले भने ।

    नेपालले नदीमा चलाउन मिल्ने गरी समुद्रमा चल्नेभन्दा सानो आकारका पानीजहाज किन्ने भण्डारीले बताए । पानीजहाज सञ्चालनका लागि खुलेको पानीजहाज कार्यालयले अब स–साना डुंगालाई आफू मातहत दर्ता गर्ने तयारी थालेको छ ।

    पानीजहाजको कार्यालयले यसका लागि विभिन्न सरकारी निकायसँग विवरण समेत माग गरेको छ । पानीजहाजको कार्यालयले प्राप्त गरेको विवरणअनुसार अहिले देशभर करीब १० हजारको संख्यामा साना–ठूला डुंगा सञ्चालनमा छन् । केही डुंगाहरू स्थानीय तहमा दर्ता भएर सञ्चालनमा छन् भने कतिपय विना दर्ता पनि सञ्चालनमा रहेको पानीजहाज कार्यालयले जनाएको छ । अब सबै डुंगा पानीजहाज कार्यालयमा दर्ता गर्नुपर्ने इन्जिनियर भण्डारीले बताए ।

    ‘जति पनि डुंगाहरू सञ्चालमा छन्, ती यहाँ दर्ता भएका छैनन्, १५ दिनपछि हामीले सूचना प्रकाशन गर्छौं, त्यसपश्चात् दर्ता गर्न सबै क्षेत्रबाट एकान्तकुनास्थित कार्यालयमा आउनुपर्ने हुन्छ,’ उनले भने । कार्यालयले पुराना डुंगा तथा ‘पानी जहाज’ दर्ताका लागि कार्यविधि र नियमावली समेत बनाएको भण्डारीले बताए ।


     

    प्रतिकृया दिनुहोस