• फिचर समाचार

    जग्गाधनी श्रीमती जापानमा, नेपालमा नक्कली श्रीमानको नाममा मृत्यु नामसारी गरेर करिब ४ करोडमा विक्री

      ओमकार टाइम्स


    काठमाडौं । जापानमा बस्दै आएका जग्गाधनीको नक्कली श्रीमान बनेर करडौँ रुपैयाँमा बिक्री गरेको प्रहरीले दावी गरेको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीका अनुसार श्रीमानसहित जापान बस्दै आएकी शान्ता देवी लोहनीको काठमाडौंको कीर्तिपुर नगरपालिका-२ मा रहेको ११ आना २ पैसा जग्गा उनको मृत्यु भएको भन्दै दुई वर्षअघि नक्कली श्रीमान तारानिधी लोहनीको नाममा नामसारी भएको थियो।

    दार्चुलाको उकु स्थायी घर भई काठमाडौंको टोखा बस्दै आएका महाविर चन्दले लोहनीको वास्तविक श्रीमान तारानिधि लोहनीको नामको नक्कली नागरिकता बनाएका थिए।श्रीमतीको मृत्यु भएको भन्दै ५६ वर्षीय(हाल) नक्कली तारानिधीले २०७७ माघ १५ गते शान्तादेवीको नाममा रहेको उक्त जग्गा आफ्नो नाममा ल्याउन पाउँ भन्दै निवेदन दिएका थिए।निवेदनमा श्रीमतीको मृत्यु २०७७ भदौ १३ गते भएको भन्दै मृत्यु दर्ताको प्रमाणपत्र पनि पेश भएको थियो। त्यसपछि सहजै आफ्नो नाममा जग्गा ल्याएका नक्कली तारानाथले उक्त जग्गा २०७७ फागुन १० गते भक्तपुरको भक्तपुर नगरपालिका-११ की सुनिता कर्माचार्यलाई ३ करोड ७० लाख रुपैयाँमा विक्री गरेका थिए।

    श्रीमानसहित गत जेठ ५ गते जापानबाट नेपाल फर्किएकी शान्तादेवी आफ्नो नाममा रहेको उक्त जग्गाको बायोमेट्रिक गराउन खोज्दा आफ्नो नाममा नरहेको पाइएपछि झस्किएकी थिइन्।दुई साताअघि अनुसन्धान था‍लेको सीआईबीले गिरोहको संलग्नतामा नक्कली कागजात बनाएर शान्तादेवीको जग्गा विक्री भएको देखिएको ब्युरोका प्रवक्ता श्याम महतोले जानकारी दिए।‘हरेक जग्गाधनीले आफ्नो जग्गाको बायोमेट्रिक गर्नुपर्छ भन्ने सन्देश यो घटनाले देखाएको छ’, एसपी शाहले भने। नक्कली कागजात बनाएर मालपोतबाट जग्गा पाससमेत भएको अवस्थामा सरकारी निकायको संलग्नताबारे भने सीआईबीले केहीपनि स्पष्ट पारेको छैन।

    ‘त्यसो त गायक योगेश्वर अमात्यको जग्गाको ठगी सन्दर्भमा पनि मालपोतमा नगईकनै बैंकबाट पैसा निकासा भएको थियो’, एसपी महतोले भने।नक्कली मृत्यु दर्ता र नक्कली नागरिकता सरकारी कार्यालयबाटै बनाइएको थियो की बाहिरबाट भन्ने विषयमा पनि सीआईबीले स्पष्ट पारेको छैन।प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक महिलासहित ५ जनालाई पक्राउ गरेको छ। त्यसमध्ये काठमाडौंकी ५८ वर्षीया डासी माया श्रेष्ठ र नुवाकोटका ४६ वर्षीय प्रेमप्रसाद खनाल दलाल भएको तथा सिन्धुपाल्चोकका ४१ वर्षीय गणेशबहादुर खनाल र सोलुखुम्बुका ४० वर्षीय बाबुराम कार्की मुख्य योजनाकारसहित जग्गा खरिदकर्ता खोज्ने र आर्थिक कारोबार व्यवस्थापनमा भूमिकामा देखिएको सीआईबीको दावी छ।

    गिरोहले अन्य ठाउँको ४ बिघा जग्गा पनि विक्रीको तयारीमा रहेको देखिएको सीआईबीले जनाएको छ।

    प्रतिकृया दिनुहोस