• फिचर समाचार

    सिसडोल ल्याण्डफिल साइटमा फुटबल रंगशाला बनाउने चाहना छ : मेयर शाह

      ओमकार टाइम्स

    काठमाडौँ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताएका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ्सँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै मेयर शाहले यस्तो बताएका हुन् ।

    ‘सिसडोल ल्याण्डफिल साइटको फोहोरलाई उचित ब्यबस्थापन गरेर हामी सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ । काठमाडौँको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लड लाइट जडान गरेर राती खेल्न मिल्ने बनाउँछौँ ।’ मेयर शाहको भनाइ छ ।

    कुराकानीका क्रममा उनले, काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको पनि बताए । ‘यसका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्छौँ ।’ प्रमुख शाहले भने, ‘अहिले पनि काठमाडौँ महानगरले महानगरमा भएका ‘ए डिभिजन’, ‘वि डिभिजन’ र ‘सी डिभिजन’ फुटबल क्लबहरुलाई खेल सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराइरहेका छौँ ।’

    नेपाली फुटबलको विकास र विस्तार गर्न आफूहरु महानगरसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ले, सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउने बताएका छन् ।

    प्रतिकृया दिनुहोस