• फिचर समाचार

    किन बढ्छ हरेक ६ महिनामा कोरोना जोखिम ?

      ओमकार टाइम्स

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा नेपालमा ७१० जना कोरोना सङ्क्रमित थपिए । ५ हजार २५ जनाको परीक्षण गर्दा यो सङ्ख्या देखिएको हो ।

    बिहीबारको सङ्क्रमण दर १४ दशमलब १२ प्रतिशत हो। ० दशमलब ५ प्रतिशतभन्दा कम भइसकेको सङ्क्रमण दर बढेर यो अवस्थामा पुग्नुले चौथो लहरको पुष्टि गरेको छ। सङ्क्रमण दर बढ्दै चौथो लहर सुरु भए तापनि मृत्यु दर भने कम छ। कोरोनाको खोप तथा विगतमा बारम्बार सङ्क्रमित भइसकेका कारण यस पटक मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढेर मृत्यु दर भने कम रहेको विज्ञहरूको दाबी छ।

    नेपालको हकमा पहिलो लहर २०७७ असोज/कात्तिक महिनामा उच्च बिन्दुमा पुगेको थियो । त्यसको करिब ६ महिनापछि नेपालमा दोस्रो लहर उच्च विन्दुमा पुगेको थियो। ५० प्रतिशतसम्म सङ्क्रमण दर भएको २०७७ सालको सो लहरमा नेपालले सर्वाधिक मानवीय क्षति बेहोर्‍यो ।

    त्यसको करिब ६ देखि ८ महिनाको बीचमा नेपालमा ओमिक्रोन भेरियन्टका कारण अर्को लहर आएको थियो। अत्यधिक सङ्क्रामक ओमिक्रोन भेरियन्ट कम घातक भएका कारण दोस्रो लहरको तुलनामा तेस्रो लहरमा खासै क्षति भएन। अहिले चौथो लहर चलिरहँदा तेस्रो लहरको भन्दा बढी क्षतिको सम्भावना देखिएको छ।

    कोडिभ विज्ञका अनुसार रोग लागिसकेपछि उत्पादन हुने एन्टिबडीको सबैभन्दा बढी प्रभाव ३ देखि ५ महिना हुने गर्छ । यसपछि ती एन्टिबडीको प्रभाव बिस्तारै कम हुन थाल्छ । यस कारण सामान्यतया ६ महिनाको अन्तरालमा कोभिडको अर्को लहर देखिँदै आएको छ।

    विज्ञहरूका अनुसार एन्टिबडी सकिँदै गए पनि मानव शरीरमा १ पटक सङ्क्रमित भएपछि उत्पन्न हुने टी सेलले गम्भीर लक्षणको जोखिमलाई घटाएको हुन्छ। यसकै कारण पहिलो पटक सङ्क्रमित हुँदाभन्दा दोस्रो पटक सङ्क्रमित हुँदा मृत्युको जोखिम कम हुने गरेको छ।

    सङ्क्रमणको सूचना राख्ने काम टी सेलले गर्छ। यसले नै इम्युन सिस्टमको संयोजन गरेर रोगबाट बचाउने काम गर्छ। डेल्टा भेरियन्टले भन्दा ओमिक्रोनले कम एन्टिबडी र टी सेल पनि कम नै निर्माण गरेको छ। यस कारण डेल्टाभन्दा ओमिक्रोन भाइरस सङ्क्रमितको पुनर्सङ्क्रमण जोखिम ८ गुणा बढी हुन्छ।

    अमेरिकी राष्ट्रपति जो वाइडेनका मुख्य स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फउसीले १ वर्षमै दोस्रो पटक सङ्क्रमित हुनुलाई स्वाभाविक मानेका छन् । कोरोनाका धेरै भ्याक्सिन बने पनि ती भ्याक्सिन सङ्क्रमण रोक्न भने असफल रहे तथापि गम्भीर लक्षणको जोखिमलाई न्यूनीकरण गर्न भने भ्याक्सिन सफल भएका छन्। भ्याक्सिन दीर्घकालीन प्रभावकारी नभएका कारण २ डोज लगाएर बुस्टर लगाउनेमा पनि अहिले समस्या देखिन थालेको छ ।

    गत जाडो याममा ओमिक्रोनको सबभेरियन्ट ‘बीए.१’को उत्परिवर्तन हुँदै अहिले ‘बीए.४’ र ‘बीए.५’ फैलिइरहेका छन्। नेपालमा भने ‘बीए.५’को सबभेरियन्ट देखिएको छ। यस उत्परिवर्तनका कारण ६ महिना नहुँदै फेरि अर्को लहर देखिएको छ।जनस्वास्थ्यविद् डा. जनक कोइरालाका अनुसार सबभेरियन्टका कारण एन्टिबडी कम प्रभावकारी भएको हो।

    साथमा रगतको समस्या (रक्त क्यान्सर र एचआईभीलगायत) र बढी उमेरकाको हकमा टी सेलले पनि कम काम गरेको उनको अनुभव छ। नेपालमा अहिले दीर्घ रोगी र शारिरिक रूपले अशक्तहरूलाई यो समस्या बढी देखिएको छ। साथै, उमेर पाको हुँदै जाँदा टी सेलले पनि काम नगर्ने भएकाले बढी उमेर भएकाहरूमा यो जोखिम बढी देखिएको उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस