• समाचार

    बलिउड अभिनेता अक्षय कुमारलाई देश निकाला गर्न माग

      एजेन्सी


    एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारलाई राम सेतुको छवि बिगारेको आरोप लागेको छ । भारतीय सञ्चार माधयमका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रमण्यम स्वामीले अक्षय विरुद्ध मुद्दा हाल्ने र देशबाट निष्कासनको माग गर्ने बताएका छन् ।

    अक्षय कुमार यतिबेला आफ्नो आगामी फिल्म ‘राम सेतु’ लाई लिएर निकै चर्चामा छन् । यो चलचित्रको छायांकन सकिएको छ र फिल्मलाई यही वर्षको अक्टोबरमा रिलिज गरिने निर्माण टिमले बताएका छन् । तर, रिलिज हुनुअघि नै अक्षयको फिल्म संकटमा परेको छ ।

    अक्षयको फिल्ममा राम सेतुको बारेमा गलत तथ्य देखाइएको स्वामीले आरोप लगाएका छन् । शनिबार २ वटा ट्विट गर्दै उनले फिल्मका निर्माता र अक्षय कुमारविरुद्ध मुद्दा दायर गर्ने बताएका हुन् । फिल्म ‘राम सेतु’ मा राम सेतुको गलत तथ्य र छवि प्रस्तुत गरेकोमा अक्षय र कर्मा मिडियाको विरुद्धमा आफु रहेको उनले बताएका छन् ।

    ‘म अक्षय कुमार र उनको कर्मा मिडिया विरुद्ध मुद्दा हाल्दैछु। उनले आफ्नो आगामी फिल्म राम सेतुलाई गलत ढंगले प्रस्तुत गरेका छन् । उनको फिल्मले राम सेतुको छविलाई बिगारेको छ । मेरा वकिलले मुद्दाको मस्यौदालाई अन्तिम रूप दिएका छन् ।’स्वामीले भनेका छन् ।

    साथै स्वामीले आफ्नो दोस्रो ट्वीटमा लेखेका छन्, ‘अक्षय कुमार विदेशी नागरिक हुन् भने हामी उनलाई गिरफ्तार गरी देश निकाला गर्न आग्रह गर्न सक्छौं।’

    राम सेतुमा अक्षयले पुरातत्वविद्को भूमिका निभाएका छन्, जसले भारत र श्रीलंकाबीचको राम सेतुको सत्यता पत्ता लगाउने काम गरेका छन्। फिल्मको सुटिङ मुम्बई बाहेक अयोध्या र उत्तर प्रदेशका विभिन्न स्थानमा गरिएको छ ।

    निर्देशक अभिषेक शर्माको निर्देशनमा बन्न लागेको ‘राम सेतु’ फिल्ममा अक्षय कुमारसँगै अभिनेत्री नुसरत भरुचा र ज्याकलिन फर्नान्डिज पनि मूख्य भूमिकामा रहेका छन् । फिल्मको पहिलो पोस्टर पनि सार्वजनिक भइसकेको छ ।

    प्रतिकृया दिनुहोस