प्रचण्डमाथि पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन खोजेको आरोप लागेको छ ।

अध्यक्ष प्रचण्डले सचिवालयमा पेस गरेको दस्तावेजमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोप लगाइएको छ । यद्यपि ओलीले पनि आगामी १३ मंसिरमा बस्ने सचिवालय बैठकमा सो आरोपको खण्डनसहितको दस्तावेज तयार पार्ने गरी गृहकार्य अघि बढाएका छन् ।

दुवै पक्षले एक अर्कालाई पार्टी विभाजन गराउन खोजेको आरोप लगाउँदै आइरहेका छन् । दुवै अध्यक्षको छुट्टाछुट्टै दस्तावेजबारे सचिवालयमै छलफल गरी निष्कर्ष निकाल्नुपर्नेमा अध्यक्ष प्रचण्डले आफ्नो दस्तावेज कार्यकर्ता तहमा लैजाँदा त्यसले गलत सन्देश दिने र पार्टी एकतामा नै गम्भीर धक्का लाग्न सक्ने ओली पक्षका नेताको दाबी छ । ओली पक्षका नेताले विधि र पद्धतिको चर्को आवाज उठाउनेहरूले नै विधि पद्धति मिचेर अराजकता मच्चाएको आरोप लगाएका छन् ।

अध्यक्ष प्रचण्डले सो दस्तावेजलाई किताबका रूपमा प्रकाशन गरी प्रदेश तथा जिल्ला तहमा पठाएपछि नेकपाभित्रको विवादले नयाँ रूप लिएको छ । अर्का अध्यक्षलाई आरोप नै आरोप लगाएर तयार पारिए पनि पुस्तकको नाम भने ‘पार्टी एकता र पार्टी निर्माणको आधार’ दिइएको छ । सो किताब देशव्यापी रूपमा वितरण गर्नुलाई पार्टीका नेताले पार्टी विभाजनको औपचारिक कदमका रूपमा चित्रण गर्न थालेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो ।

आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ अनुसार आर्थिक वर्ष २०७०÷७१ यता स्थायी लेखा (प्यान) नम्बर लिएर पनि आय विवरण पेस नगर्ने र आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएर उठाउन लागेको हो । कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राही एवं करदाताले यसअघि विभिन्न समयमा उपलब्ध गराइएको अवसरमा समेत आफूले बुझाउनुपर्ने कर नतिरेका कारण विभागले अहिले पुनः मौका दिएको बताएको छ ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति पाण्डेले आगामी फागुनसम्मको अवसर नगुमाउन सम्बन्धित सरोकारवाला एवं सेवाग्राहीलाई आग्रह गरे । उनले सेवाग्राहीका लागि यो निकै राम्रो अवसर भएको बताए ।

विभागका अनुसार हाल आय विवरण पेस नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ । विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छुट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता गरेको बताएको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

 

आजको राशिफल : २०७७ साल मंसिर ११ गते बिहीबार

वि.सं.२०७७ साल मंसिर ११ गते । बिहीबार । ईश्वी सन् २०२० नोभेम्बर २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि– द्वादशी,अहोरात्र । नक्षत्र–रेवती,४१ घडी ०० पला,बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त अश्विनी । योग–सिद्धि,०९ घडी ०१ पला,बिहान १० बजेर ११ मिनेट उप्रँन्त व्यातिपात । करण–बव,बेलुकी ०७ बजेर १९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मीन,बेलुकी १० बजेर ५८ मिनेट उप्रान्त मेष ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्वपूर्ण कामहरु थाति रहनेछन् । लामो दुरिको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी भूमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्वन्धी समस्या बढ्ने तथा औषधी उपचार खर्च बढेर जानेछ । अन्य काममा सहभागी हुदा पढाइ लेखाइ भने थाती रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पती तथा प्राकृतिक स्रोतको परिचालन मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट भनेजस्तो नाँफा कमाउन सकिने हुनाले अन्य क्षेत्रमा लगानी गर्न सकिनेछ । माया प्रेममा थप प्रगाडता बढेर जानेछ भने दाम्पत्य जीवन खुरि रहनेछ । पढाइ लखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरीएको लगानी फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामको सवालमा बिशिष्ट व्याक्ती हरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ व्यावसायमा लगानी गरी आर्थिक रुपमा सुदृड हुन सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको समयोगमा राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचे जस्तै नाँफा कमाउन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपार्ईँ अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कामगर्ने सवालमा आलोचनाको शिकार हुदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरेपनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेकोछ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्का विच अविश्वास बढ्ने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लगानी वढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पती तथा मानव निर्मीत वस्तुहरु प्राप्तीको गतिलो योग रहेकोछ । लामो समयदेखी भेट नभएका मित्र हरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानी गरी आर्थिक स्थिती उकास्न सकिनेछ । कुनैपनि क्षेत्रमा आउने प्रतिस्पर्धीहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुने तथा न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् । पढाइमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि भेटिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पती लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँ कै पक्षमा आउँनेछन् भने बिवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ । व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उपलव्धी मुलक नै रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलाशी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरी असिमित आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउन चाहाने हरुका लागी दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगती हुने तथा नतिजा तपार्ईँँ आफ्नै पोल्टोमा पर्नेछ ।

राजसंस्थाको माग गर्दै पोखरा र जनकपुरमा उर्लियो मानव सागर

पोखरा : पोखरामा राजसंस्था पुनर्वहालीको माग गर्दै बुधबार विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ ।

आज आयोजित र्‍यालीमा लाखौंको संख्यामा मानिसहरु सहभागी भएको शिव सेनाका सतिस पोख्रेलले जानकारी दिए । र्‍यालीमा सहभागी सर्वसाधारणहरुले राजसंस्था पुनर्वहालीको माग गर्दै चर्को नारा लगाएका थिए ।र्‍यालीका कारण पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो ।

त्यस्तै प्रदेश २ को जनकपुरधाममा पनि बुधबार नै राजसंस्था पुनर्स्थापनाको मागसहित मोटरसाइकल र्‍यालीको आयोजना गरिएको थियो ।पछिल्लो समय देशमा विभिन्न स्थानमा राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन हुँदै आएका छन् ।

 

आज र भोली हरिबोधनी एकादशी, कस्तो छ महत्व ?

काठमाडौं । हिन्दु धर्म तथा परम्परा अनुसार यस वर्ष आज (बुधबार) र भोली (बिहीबर) हरिबोधनी एकादशी विधिगत रुपमा मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताए । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ । एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् ।

यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उनले जानकारी दिए । वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् । सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ ।

यो एकादशी यस वर्ष मङ्सिर ११ गते बिहीबार परेको समितिले जनाएको छ । जसलाई वैष्णवानां एकादशी अर्थात् वैष्णवको एकादशी भन्ने गरिएको छ । यहाँ विशेष टीका लगाउनेलाई मात्र वैष्णव भनी बुझ्न नहुने अध्यक्ष गौतमले बताए । समितिले स्वीकृति दिएकामा पात्रोमा पनि यही उल्लेख गरिएको छ ।

कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुनुहुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौंको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

५० प्रतिशत नेपाली जनता भन्छन्, राष्ट्रपति र प्रधानमन्त्री भ्रष्टाचारी !

एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख गरेको छ । ५८ प्रतिशत नेपाली भन्छन्, ‘एक वर्षमा भ्रष्टाचार झन् बढेको छ ।’ त्यस्तै, २३ प्रतिशत जनताले भ्रष्टाचार घटबढ नभई उही स्तरमा रहेको विश्वास गर्ने पनि प्रतिवेदनले उल्लेख गरेको छ । १८ प्रतिशत जनताले मात्रै भ्रष्टाचार घटेको मान्ने गरेको पनि प्रतिवेदनले जनाएको छ ।

राष्ट्रपति तथा प्रधानमन्त्री भ्रष्टाचारी रहेको विश्वास गर्ने नेपाली जनता ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, ४३ प्रतिशत नेपालीले सांसद र सरकारी अधिकारीहरू भ्रष्ट रहेको सोच्ने गर्छन् । स्थानीय तहका अधिकारीहरू भ्रष्ट रहेको सोच्ने नेपालीको संख्या ४० प्रतिशत रहेको तथा २८ प्रतिशतले प्रहरी भ्रष्टाचारी हुने सोच्ने गरेको पनि अध्ययनले देखाएको छ ।

नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार ठूलो समस्या रहेको सोच्ने गरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, १२ प्रतिशत जनताले एक वर्षमा सार्वजनिक सेवा लिँदा कुनै न कुनै रूपमा घुस खुवाउनुपरेको पनि उल्लेख गरेका छन् ।

ट्रान्सपरेन्सीले एसियाका १७ मुलुकमा भ्रष्टाचारको स्तर तथा सार्वजनिक सेवाको समान पहुँच तथा सरकारप्रतिको विश्वासजस्ता विषयमा जनतामाझ सर्वेक्षण गरी यो प्रतिवेदन तयार पारेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कोरोना नियन्त्रणको नाममा ब्रम्हलुट : एउटा लाइफबोय साबुनको ३ हजार ?

कोरोना नियन्त्रणको नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गरिरहेको खुलासा भएको छ । सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरकापालिकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा ब्यापक अनियमितता पाइएको हो ।

बोदेबरसाइन नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनका नाममा खरिद गरिएको सामग्रीको मूल्य बढाएर खर्च उल्लेख गरेको छ । सार्वजनिक गरेको खर्च विवरण अनुसार लाइफबोय साबुनको प्रतिगोटा मूल्य तीन हजार उल्लेख गरिएको छ ।

गत बुधबार नगरपालिकाले कूल २ करोड २१ लाख रुपैयाँ कोरोना नियन्त्रणमा खर्च भएको विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको ३ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । ९५ पिस लाइफबोय साबुनमा नगरपालिकाले ३ लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

यसको आलोचना भएपछि नगरप्रमुख आतेशकुमार सिंह यादवले ९५ थान नभएर ९५ कार्टुन हुनुपर्नेमा गल्ती भएको प्रष्टिकरण दिएका छन् । यदी उनको कुरा मान्ने हो भने नगरपालिकाले एक थान साबुको २६ रुपैयाँ तिरेको छ । तर, नगरपालिकाले पुनः १० कार्टुन (१४४० थान) साबुन किन्दा चार लाख ३१ जार नौ सय ५५ रुपयाँ भुक्तान गरेको विवरण प्रस्तुत गरेको छ । यस अनुसार नगरपालिकाले एक थान साबुनको २ सय ९९ रुपैयाँ खर्च गरेको छ ।

गोलमाल हिसाब प्रस्तुत गर्ने नगरपालिका अख्तियार दुरुपयोग आयोगको अनुसन्धानमा परेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

 

आजको राशिफल : २०७७ साल मंसिर १० गते बुधबार

वि.सं.२०७७ साल मंसिर १० गते । बुधबार । ईश्वी सन् २०२० नोभेम्बर २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरु सम्पन्न नहुदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने बैकिङ क्षेत्रको लगानी फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुनाले लगानी बढाउँन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आज गरीएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुनेयोग रहेकोछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) जीवन साथीको सहयोगले नाँफामुलक व्यावसाय सुरु गर्न सकिनेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । मानव निर्मित भौतिक सम्पती तथा विलासी सामान प्राप्त हुनेयोग रहेकोछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै आफन्त तथा गुरुहरुको नाक राख्न सकिनेछ । माया प्रेममा रामाउन चाहने हरुले सँगै बसेर भलाकुसारि गर्न पाउने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउदै नतिजा तपार्ईँ आफ्नै पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने तपार्ईँको खैरो खन्नेहरु आफै साईड लाग्नेछन् । बिवादित विषयहरुको निर्णय तपार्ईँ आफ्नै पक्षमा आउँने हुनाले खुसीले उचाई नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउन सकिने हुदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जागर आउनेछ । प्रणय सम्बन्धमा बिस्वासको वाताबरण बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपुर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।

 

नेपाल-भारत सीमास्थल जौबारीमा बिओपी स्थापना

इलाम । नेपाल–भारत सीमास्थल जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।

इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौबारीमा स्थापित बिओपी प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेशका कृषिराज्यमन्त्री राम रानाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलामअन्तर्गत स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध कामकारवाहीमा परिचालित हुने सशस्त्र प्रहरी बल इलामका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए ।

इलाम सदरमुकामदेखि करिब ३९ किलोमिटरको दूरीमा नेपाल–भारत सीमा नाकाभन्दा करिब एक किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारदेखि नै दैनिककार्य सञ्चालन गरेको छ । नेपाल सरकारको नीतिअनुरूप सिमानालाई अझ मजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट थप गर्दै लगिएको हो ।

इलामको सलकपुर, छब्बीसे, समालबुङ, कालपोखरी लगायतका स्थानमा यसअघि नै बिओपी स्थापना भइसकेको छ । बिओपी उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जौबारी आउने कार्यक्रम तय भएको थियो तर प्रतिकूल मौसमका कारण जहाज अवतरण गराउन नसक्दा समस्या भएको थियो । प्रधानमन्त्री ओली सवार जहाज इलाममा अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गराइएको हो ।

आजबाट कक्षा १२ को परीक्षा सुरु, ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिने

काठमाडौ । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमणका कारण रोकिएको कक्षा १२ को परीक्षा लामो समयपछि आजबाट सुरु हुँदै छ ।

यस परीक्षामा करिव ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह पनि गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क हुन आग्रह गरेका छन् । विद्यार्थी धेरै रहेको परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।

कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने जनाइएको छ । कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीहरुका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको बताइएको छ भने यस परीक्षा आगामी मंसिर १६ मा समाप्त हुनेछ ।

सैद्धान्तिकतर्फ कुल पूर्णांकको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा दिइने बोर्डले जनाएको छ । गएको वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोनाका कारण रोकिएको थियो ।