काठमाडौँ । भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले सो निर्देशन दिएका थिए । तर, सो समय सीमाभित्र अनुसन्धान प्रतिवेदन पेस नहुने भएको छ ।>
प्रहरीले बुधवार अनुसन्धान प्रतिवेदन नबुझाउने निर्णय गरेको छ । शरणार्थी प्रकरणको अनुसन्धान नसकिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले बताए । रिजालले भने, ‘अनुसन्धान सकिएको छैन ।’ >
२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका हुन् । हालसम्म यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे सहित १४ जना थुनामा छन् । >