समाचार २९ असोज २०७९
पाल्पामा विपद् व्यवस्थापनको नमूना अभ्यास

ओमकार टाइम्स

पाल्पामा विपद् ब्यवस्थापनका लागि अभ्यास प्रदर्शन गरिएको छ । विपद्का बेला सुरक्षा निकायले गर्ने उद्धारको नमूना अभ्यास गरिएको छ । नेपाली सेना, शसस्त्र प्रहरी तथा जनपथ प्रहरीको संयुक्त टोलीले तानसेनमा विपद्का घटनामा परेका नागरिकको उद्दारमा अपनाउन सकिने छ प्रकारका अभ्याससहित प्रदर्शन गरेको हो ।

विपद्का घटना जस्तै अग्ला खोँचमा खसेका, दुर्घटनाबाट भीरमा फसेका गम्भीर घाइते, अचेत अवस्थाका व्यक्तिलाई सुरक्षित रुपमा उद्दार गर्न सुरक्षाका टोलीले नमूना प्रदर्शन गरेको हो । विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकायले अभ्याससहितको प्रदर्शन गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

टोलीले टप रोप क्लाम्बिङ्, सिलिङ् एण्ड क्याराविनर र्यापेलिङ्, फिक्स रोप क्लाम्बिङ्, काउण्टर व्यालेन्स रेस्क्यू, हाई लाइन रोप रेस्क्यु तथा ओभर ह्याङ् र्यापेलिङ् जस्ता प्रदर्शन गरेका थिए ।

खोँच तथा भीरमा परेका नागरिकलाई डोरी र सुरक्षा सामग्रीको सहयोगमा उद्दार गर्न सकिने, ९० डिग्री भन्दा बढी ढलान भएको चट्टानी इलाकाबाट उद्धारको अभ्यास गरिएको पाल्पा स्थित दि फेमस महिन्द्रा दल गणका गणपति बालमुकुन्द विष्टले बताए । उनले बाढी, पहिरो, दुर्घटना, तथा एक्कासी हुने घटनाबाट जोखिममा परेका नागरिकको उद्दार कार्यमा सहजता ल्याउन संयुक्त अभ्यास गरिएको उल्लेख गरे ।
 
पाल्पा पहाडी जिल्ला भएकाले यहाँको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै जिल्लास्थित सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न र उनीहरूको मनोवल बढाउन यस्तो प्रदर्शन गरिएको बताइएको छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार