खेल १६ पौष २०७९
लुम्बिनीमाथि पोखराको सहज जित

ओमकार टाइम्स

 नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा पोखरा एमेन्जर्सले सहज जित निकालेको छ। शनिबार भएको खेलमा पोखराले लुम्बिनी अल स्टारमाथि ९ विकेटको जित निकालेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर २ बलमा एक विकेट गुमाउँदै पूरा गर्‍यो। पोखरका लागि आसिफ शेखले अविजित रहँदै ७७ रनको अर्धशतकीय पारी खेले। ६२ बल खेलेका उनले ९ चौका प्रहार गरे। त्यस्तै आरिफ शेखले २६ रन बनाउँदा सुमित महर्जनले १३ रनको योगदान गरे।

बलिङतर्फ लुम्बिनीका लागि किशोर महत्वले एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२७ रन बनाएको थियो । लुम्बिनीका लागि हर्मित सिंहले सर्वाधिक ३८ रन बनाए । त्यस्तै साड्ले भानले १६ रन बनाउँदा सुनिल धमलाले १५ रनको योगदान गरे।

बलिङतर्फ पोखराका लागि विपिन कार्की र जहिर खानले तीन–तीन विकेट लिए। त्यस्तै आरिफ शेख, तुल थापा र शिद्धान्त लोहनीले एक–एक विकेट लिए। जितसँगै पोखराले ७ खेलमा ४ अंक जोडेको छ। पोखरा तालिकाको पाँचौं स्थानमा छ। पराजित लुुम्बिनी ६ खेलबाट १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ।

प्रतिक्रिया