काठमाडौं – प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको नेतृत्वमा अर्बौं रुपैयाँको आर्थिक अनियमितता भएको आरोप लागेको छ। बैंकिङ सम्पत्ति अनाधिकृत रूपमा परिचालन गर्दै बैंकलाई हानि पुर्याएको गम्भीर अभियोगसहित शेरचनविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दर्ता भएको छ।>
उजुरीअनुसार, शेरचनले अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी बैंकको वित्तीय कारोबारमा बाह्य व्यक्तिलाई अवैध पहुँच दिएर बैंकिङ प्रणालीमै हस्तक्षेप गरेका थिए। बैंकको कमलादी शाखाबाट अर्बिटका व्यक्तिहरूले गोप्य वित्तीय कारोबार सञ्चालन गर्न पाएको खुलासा भएको छ, जसले बैंकिङ सुरक्षामै गम्भीर प्रश्न उठाएको छ।>
यसबाहेक, शेरचनमाथि विद्यार्थी कर्जा र अनलाइन भुक्तानी प्रणालीको दुरुपयोग गर्दै बैंकको आम्दानी अपचलन गरेको गम्भीर आरोप छ। बैंकले पाउनुपर्ने करोडौंको कमिसन अर्बिट कन्सल्टेन्सीको खातामा गैरकानुनी रूपमा दाखिला गराइएको उजुरीमा उल्लेख छ।>
सबैभन्दा ठूलो घोटाला भने गुण ग्रुपको गुण सिनेमा र सुगत इनभेष्टमेन्ट प्रालिलाई दिएको २ अर्ब २६ करोड ऋण असुल नगर्ने रणनीति हो। समयमै कर्जा उठाउन पहल नगरी बैंकलाई अर्बौंको घाटामा पुर्याउने खेल भएको आरोप छ। यस्तो गम्भीर आर्थिक अपराधप्रति नियामक निकायहरू मौन हुनुले आफैमा शंकास्पद देखिन्छ ।>
प्रभु बैंकमा भइरहेको वित्तीय अनियमिततामाथि गहिरो छानबिन गर्दै दोषीहरूलाई कारबाही गर्नुपर्ने माग उजुरीकर्ताले गरेका छन्। बैंकिङ क्षेत्रको विश्वसनीयतामै खतरा निम्त्याउने यो प्रकरणले वित्तीय प्रणालीमा ठूलो कम्पन ल्याउने संकेत देखिएको छ।>
>>