समाचार अर्थतन्त्र २८ मंसिर २०७९
बजारमा तरलताको अभाव झनै बढ्छ : गभर्नर अधिकारी

ओमकार टाइम्स

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजारमा अहिले तरलतामा केही सहज भइरहेपनि पुस महिनामा भने तरलतामा चुनौती आउने बताए । उनले तरलताको चुनौतीलाई समाधान कसरी गर्ने भन्ने बारेमा राष्ट्र बैंक लागिपरेको समेत बताए । गभर्नर अधिकारीले गत आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब बजरमा पठाएको बताए । राष्ट्र बैँकले आवश्यक कामहरू गरिरहेपनि अझै बजारमा सहजता भने भइनसकेको उनले बताए ।

उनले पछिल्ला केही दिनहरुमा रेमिट्यान्समा राम्रो भएकाले अहिले बजारमा तरलताको अभाव कम भएको बताए । तरलताको अभावलाई अझ सहज बनाउन बजारमा मनी रिसाइक्लिङको आवश्यक्ता हुने बताए । बैंकबाट लगेको ऋण केही न केही कोषमा तिरेको खण्डमा भने बजारमा तरलताको अभाव कम हुने बताए । उनले फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरुलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्ने हो भने अर्थतन्त्रमा सुधार हुन नसक्ने बताए । उनले राष्ट्र बैंकले तरलता सहजता कम गर्दा समेत बजारमा सहजता नहुनु भनेको व्यापार घाटा भएको बताए ।

उनले भने, ‘बजारमा तरलतामा केही सहजता भइरहेको छ । सधैँ सहजता रहँदैन । पुस हामीलाई चुनौती रहन्छ । यो साल पुसमा (केही ट्याक्स) सरकारको कोषमा पैसा आउँछ । क्यालेण्डर अनुसार पुस महिनामा ३० अर्बको इस्यु छ । यसको असर पुसमा पर्छ तर हामी कसरी तरलताको असरलाई सहज गर्छौं भन्ने कुरामा लागि परेका छौँ । राष्ट्र बैंकले तरलता सहजताको लागि गरेको प्रयास यहाँहरुले गहिरिएर हेर्नुभयो भने थाहा हुन्छ । गत वर्ष राष्ट्र बैंकले ९७ खर्ब एक वर्षमा मार्केटलाई दिएको छ । हामीले आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम गरिरहेका छौँ । तैपनि बजारमा त्यो खालको सहजता भइरहेको छैन । कारण भनेको बिओपी हो । पछिल्ला दिनमा राम्रो खालको रेमिट्यान्स इन्फ्लो पाइरहेका छौँ । जसको असर स्वरुप हामीलाई तरलतामा सहजता भएको छ ।’ 

उनले भने– ‘यसलाई अझै सहज बनाउन एक खालको रिसाइक्लिङ बजारमा हुन जरुरी छ । लगेको ऋण केही न केही कोषमा तिरिनुपर्छ तबमात्र तरलता सहज हुन्छ । बजारलाई हामी सहज बनाउँछौँ नै । तर बजारमा भएको अनुशासनहीन, फाइनान्सियल क्षेत्रमा भएको विकृतिहरुलाई अफ्ठ्यारो बेलामा सुधार्नु हुँदैन भन्न थाल्यौँ भने कहिल्यै सुधार हुँदैन । झन गाह्रो पर्छ । त्यसकारण त्यस्ता विकृतिहरु समयमा नै चिर्नुपर्छ ।’

गभर्नर अधिकारीले राष्ट्र बैंक निजी क्षेत्रसँग खुला छलफल र सहकार्य गर्न तयार रहेको बताए । उनले अहिले आयात खुला गरिएको र अर्थतन्त्रलाई सन्तुलन गर्न विभिन्न नीति ल्याइएको पनि बताए ।



प्रतिक्रिया

सम्बन्धित समाचार