समाचार २६ मंसिर २०७९
समय तोकेरै काम पुरा गर्न निर्माण व्यवसायीलाई भरतपुर महानगरपालिकाको अल्टिमेटम

ओमकार टाइम्स

भरतपुर महानगरपालिकाभित्र निर्माणाधीन आधा दर्जन आयोजनाहरूलाई समयमै काम पुरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ ।भरतपुरका मुख्य सडक खण्डहरूको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पुरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो ।

आइतबार भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पुरा गर्ने प्रतिबद्धता जनाएको भरतपुर महानगरपालिकाका इन्जिनियर सारकार लामाले जानकारी दिए ।धर्मचोक–बैकुण्ठचोक सडक खण्डको कालोपत्रे गर्न बाँकी करिब ५सय ५० मिटर सडक पुस ३ गतेसम्म बेस कोर्स पुरा गरी पुसको १३ गतेभित्र अस्फाल्ट कार्य सम्पन्न गर्ने तथा सहिद चोक–धर्मचोक–कचपचे सडक खण्डको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । यो सडक निर्माण गर्न भरतपुर महागनरपालिकाले निर्माण कम्पनीलाई बरम्बार ताकेता गरेपनि विभिन्न बहाना बनाएर काम गरेको थिएन ।

यस्तै निर्माणको अन्तिम चरणमा रहेको प्रचण्ड पथ अन्तर्गत महेन्द्रचोक–रिमाल चोक सडक खण्डको अस्फाल्ट कार्य १२ दिनभित्र सम्पन्न गर्ने सम्झौता भएको छ ।

त्यस्तै निर्माणाधीन पार्वतीपुर बजार सडक खण्डको बाँकी निर्माण कार्य १ महिनाभित्र सम्पन्न गर्ने गरी अगाडि बढाउने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको  छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनताको प्रत्यक्ष सरोकारको विषयमा स्थानीय सरकारको हैसियतले महानगरको गम्भीर चासो र चिन्ता रहेको उल्लेख गर्नुभयो । महानगरपालिकाले यहाँ निर्माणाधीन विकासको आयोजना समयमै सम्पन्न गराउन निर्माण व्यवसायीलाई पटक पटक आह्वान गरी सहजीकरण गरेको बताउनुभयो । अब कुनै पनि आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती गरे नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने उहाँको भनाई छ ।  

माडी ठोरी हुलाकी सडक खण्ड अन्तरगतको निर्माण कार्य यो आर्थिक वर्षभित्र सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, हुलाकी आयोजना प्रमुख धमेन्द्र झा, सडक डिभिजन भरतपुरका प्रमुख रमेश प्रसाद पौडेलेको संयुक्त बैठकले निर्माण कम्पनी रमण शिवशक्ति जेभीलाई छटो काम पुरा गर्न अल्टिमेटम दिएको छ ।  

यसै प्याकेज अन्तर्गतका सम्पूर्ण सडक खण्डको बाँकी निर्माण कार्य तोकिएको समयभित्रै एवं यस अघि महानगरको बैठकमा भएको छलफल अनुसार काम गर्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीले प्रतिबद्धता जनाएको इन्जिनियर लामाले जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार