समाचार १५ माघ २०७९
गृह मन्त्रालयबारे गठबन्धनमा छलफल जारी, रास्वपालाई दिन माओवादीको आनाकानी

ओमकार टाइम्स

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएसँगै खाली बनेको गृह मन्त्रालयको नेतृत्वबारे सत्ता गठबन्धनमा छलफल सुरु भएको छ । रास्वपालाई नै फेरि सो मन्त्रालय दिन सरकारको नेतृत्वकर्ता दल माओवादी सकारात्मक देखिएको छैन ।सत्तारुढ दलहरुमा भागबन्डा हुँदा रास्वपाले गृहसहित ३ मन्त्रालय पाएको थियो । पार्टीका सभापति लामिछाने आफैं उपप्रधान तथा गृहमन्त्री बनेका थिए । उनी पदमुक्त भएपछि रास्वपाले गृह अरुलाई नछाड्ने बताउँदै अर्को व्यक्ति पठाउने तयारी गरेको छ । तर, सत्तारुढ दलबीच सहमति जुटिसकेको छैन ।

लामिछाने पदमुक्त भएपछि गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडलले बताए ।

उनले भने, ‘सत्ता गठबन्धन दलका शीर्ष नेताहरु बसेर गृह मन्त्रालयको बारेमा निर्णय हुन्छ । अहिले विभिन्न कोणबाट छलफल भइरहेको छ । कुनै ठोस निर्णय भएको छैन ।’

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रास्वपालाई गृह मन्त्रालय छाड्न सकारात्मक छैनन् ।

माओवादीका एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘रास्वपाले दाबी गरेझैं अब फेरि उसैले पाउँछ भन्ने छैन । सरकारको नेतृत्व भएको दलले नै गृह मन्त्रालय राख्ने विगतको प्रचलन पनि हो ।’

पार्टी सभापति लामिछाने नै पदमुक्त भएपछि गृह मन्त्रालय दिनैपर्छ भन्ने बाध्यता नभएको नेताहरुको बुझाइ छ । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहमत भएको दाबी गरिएको छ ।

रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालले भने पार्टीको भागमा परेको मन्त्रालयमा अर्को व्यक्तिलाई पठाइने बताए ।

उनले भने, ‘हाम्रो पार्टीले पाएको मन्त्रालयमा हामी नै जान्छौं । आफ्नो भागमा परेको मन्त्रालय अरुलाई छाड्ने कुरा हुँदैन ।’

निवर्तमान सभापति रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय गएर नयाँ नागरिकता लिइसकेका छन् । उनले नागरिकता लिएपछि फेरि गृहमन्त्री नियुक्त हुनसक्ने बाटो पनि छ । नेपालको संविधानअनुसार गैरसांसद नागरिक ६ महिनाका लागि मन्त्री नियुक्त हुनसक्छन् ।

तर, बाहिर विवाद हुनसक्ने भएकाले यो विकल्प रोजिने सम्भावना न्यून छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार