राजनीति ११ मंसिर २०७९
राष्ट्रिय पार्टी बन्ने एकीकृत समाजवादीको सकस जारी

ओमकार टाइम्स

प्रतिनिधि सभामा समानुपातिकतर्फको ७५ प्रतिशत बढी मत गणना भइसक्दा नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी बन्न चाहिने ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकस परिरहेको छ।

आइतबार बिहानसम्म समानुपातिकतर्फ  ८३ लाख ९२ हजार २९८ मत गणना हुँदा एकीकृत समाजवादीले २ लाख २२ हजार ७५७ मत पाएको छ। अर्थात् अहिलेसम्म उसको मत २.६५ प्रतिशत पुगेको छ।

९ लाख मत गणना हुँदा १.५ प्रतिशतको हाराहारीमा मत पाएको एकीकृत समाजवादीको मत पछिल्लो समय बढ्दै गएको छ तर त्यसको गति निकै धिमा छ।

१९ लाख मत गणना हुँदा एकीकृत समाजवादीले १.७ प्रतिशत मत पाएको थियो। ४८ लाख मत गणना हुँदा भने उसले २ प्रतिशत मत कटाएको थियो। शनिबार बिहान ६७ लाख मतगणना हुँदा एकीकृत समाजवादीले २.५ प्रतिशत मत पाएको थियो। ४८ लाखदेखि ६७ लाखसम्मको गणनामा उसको मत केही बढेको थियो।

एकीकृत समाजवादी तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्नेतर्फ अग्रसर भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चासो व्यक्त गरेका थिए।

शनिबार साँझ एकीकृत समाजवादीलाई संकेत गर्दै समानुपातिकतर्फ केही दलको मत अस्वाभाविक रूपमा बढ्दै गएको ओलीले बताएका थिए।

प्रतिक्रिया