नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गरिनुपर्ने बताएको छ।>
सरकार र निर्वाचन आयोगलाई समयमै राष्ट्रपतिको निर्वाचन गर्न ध्यानाकर्षण गराउने निर्णय सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी बैठकले गरेको हो।>
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपति निर्वाचन समयमै हुनुपर्ने बताए। ‘कुनै पनि कारणले राष्ट्रपति निर्वाचन पछि सार्न हुन्न,’ उनले भने, ‘कुनै कानुनी, ऐनमा समस्या छन् भने पनि समाधान गरिनुपर्छ।’>
उनले राष्ट्रपति निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोग र सरकारलाई ध्यानाकर्षणसमेत गरिएको बताए।>
गत पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले आफूहरू प्रमुख प्रतिपक्षमै रहेको बताइरहेको छ।>
यसबीचमा कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारीसमेत दिएको थियो। दुवै पद सत्ता साझेदार दलका साझा उम्मेदवारले जितेका थिए।>
>
कांग्रेसले राष्ट्रपति निर्वाचनमा अरू दलको सहयोग लिएर उम्मेदवारी दिने निर्णयसमेत गरेको छ।>
राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले साथ दिने विश्वासमा कांग्रेस छ। प्रधानमन्त्री प्रचण्डले केही दिनअघि बालुवाटारमा सर्वदलीय बैठक गरेर संवैधानिक पदहरूमा दलहरूबीच छलफल गर्नुपर्ने प्रस्ताव राखे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक मत राखेका थिए।>
कांग्रेसले भने राष्ट्रपति आफूहरूले पाउनुपर्ने बताइरहेको छ। ‘राष्ट्रपति निर्वाचन फागुन २९ बाट पनि उता लैजाने प्रयास हुन लागेका छन्, त्यसलाई कुनै हालतमा स्वीकार गर्दैनौं,’ महतले भने।>
संविधान र निर्वाचन कानुनका व्यवस्था बाझिएकाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन मिति तोकिएको छैन। संविधानअनुसार राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ। तर निर्वाचन कानुनमा राष्ट्रपतिको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ राष्ट्रपति निर्वाचित गरिनुपर्ने व्यवस्था छ। यो विषय आपसमा मेल नखाने देखिएकोले ऐन मिलाएर राष्ट्रपति निर्वाचन गर्न कांग्रेसको माग छ।>
कांग्रेस सहमहामन्त्री बद्री पाण्डले पनि समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्नेबारे पदाधिकारी बैठकमा छलफल गरिएको बताए।>
‘कानुनी र संवैधानिक विरोधाभास छन् भने सरकारले तदारूकता देखाउनुपर्छ,’ उनले भने, ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार हुन्छ। अरू दलसँग पनि छलफल गर्दै एकताबद्ध तागत लगाउने आजको बैठकको निचोड हो।’>
उनले संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिको पाँच वर्षे कार्यकाल सकिएका दिन नयाँ राष्ट्रपति पदबहाली गर्ने गरी निर्वाचन गरिनुपर्ने बताए। फागुनभित्र राष्ट्रपति निर्वाचन गरिनुपर्ने उनको भनाइ थियो।>
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भने उम्मेदवारबारे भने छलफल गरिसकेको छैन, चर्चामा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन्।>>