८१ राउण्ड अश्रुग्याँस प्रहार, आन्दोलनकारीद्वारा पेट्रोल बम प्रहार गरेको प्रहरीको दाबी

ओमकार टाइम्स

विराटनगर ।  पदम लिम्बूको शव प्रदर्शनका क्रममा झडप हुँदा विराटनगर तनावग्रस्त बन्यो । त्यसक्रममा प्रहरीले ८१ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा झडप भएको हो । झडप सुरु हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गरेको उनले दाबी गरे । झडपमा परी तीन जना प्रहरी र ६ जना आन्दोलनकारी पनि घाइते भएको पोखरेलले जानकारी दिए । 

एकजना प्रहरीको टाउकोमा चोट लागेको कारण न्यूरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ । यस्तै आन्दोलनकारीको तर्फ घाइते भएका झापा शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ । आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ । एसपी पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा उनलाई बारको ब्लेडले काटेको थियो । यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाईते भएका छन् । उनीहरु तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ । 

कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो ।  पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो ।

टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएपनि १० गते उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ । 


यद्यपि संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका छन् । लाजेहाङको शव विपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो ।  लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र  कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो । सोही क्रममा झडप भएको हो । अहिले भने प्रदर्शनकारी विराटनगरबाट बेलबारी लागेको प्रहरीले जनाएको छ । 




प्रतिक्रिया

सम्बन्धित समाचार