काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आणविक प्रतिबन्ध सन्धि सङ्गठन (सिटिबिटीयो)का कार्यकारी सचिव रोर्बट फ्लोएडबीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र कार्यकारी सचिव फ्लोएडबीच सिंहदरबार स्थित संसद सचिवालयमा शिष्टाचार भेटवार्ता भएको हो ।>
उक्त भेटमा अध्यक्ष तिमिल्सनाले नेपाल सबै किसिमका आम विनाशका हतियारहरूको निःशस्त्रीकरणको पक्षधर भएको बताए । ‘सबै प्रकारका हतियारको निःशस्त्रीकरण नेपालको परराष्ट्र नीतिको महत्त्वपूर्ण पक्षको रूपमा रही आएको छ’, उनले भने, ‘नेपाल हात–हतियार दौडको विरुद्धमा छ र सामूहिक विनाशका सबै प्रकारका हतियारको समयबद्ध र सम्पूर्ण निःशस्त्रीकरणको वकालत गरिरहनेछ र यसका निम्ति अन्तर्राष्ट्रिय प्रयत्नहरूप्रति पनि ऐक्यबद्धता जनाउँदछ ।’>
अध्यक्ष तिमिल्सिनाले संसद्को चालु अधिवेशनबाट बजेट पारित भइसकेपछि सरकारले सिटिबिटीयो सन्धि अनुमोदनका लागि संसद्मा प्रस्तुत गरेमा संसद् त्यो प्रक्रियामा प्रवेश गर्ने आश्वासन दिँदै सन्धिलाई हस्ताक्षर र अनुमोदन गर्ने राष्ट्रहरूको उल्लेख्य सङ्ख्याले नेपाल प्रोत्साहित भएको बताए । साथै नेपाल शान्ति र अहिंसाका प्रवर्द्धक गौतम बुद्धको देश भएका कारण नेपालले सगरमाथाको शिखरबाट शान्तिको सन्देश फैलाउँदै आएको पनि स्मरण गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ । >
सिटिबिटीयोका कार्यकारी सचिव फ्लोएडले पश्चिम अफ्रिका र दक्षिणपुर्वी एसियाका धेरै देशहरुले सन्धि अनुमोदन गरेको बताउँदै नेपालबाट पनि छिट्टै सन्धि अनुमोदन हुने विश्वास व्यक्त गरे । >