समाचार २ फाल्गुन २०७९
मानव बेचबिखनको अभियोगमा रुपन्देहीमा होटल सञ्चालक र कामदार पक्राउ

ओमकार टाइम्स

मानव बेचबिखन तथा अवैध ओसारपसारको अभियोगमा रुपन्देहीको तिलोत्तमास्थित होटल हेभनका सञ्चालक तथा कामदार पक्राउ परेका छन् । यो अभियोगमा फरार रहेका होटल हेभन सञ्चालक तुलसीराम पराजुली र कामदार पूजा विकलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले दुई वर्षदेखि फरार उनीहरूलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताए । होटल सञ्चालक पराजुली माघ २३ मा पक्राउ परे पनि अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले सार्वजनिक गरेको थिएन ।

२०७६ सालमा बुटवलको राजमार्ग चौराहामा वेलकम रेस्टुरेन्ट सञ्चालन गरेका पराजुलीले कामदारको रूपमा पूजा विकलाई राखेका थिए । पराजुलीले पूजाको सहयोगमा अन्य युवतीलाई पनि होटलमा कामदारका रूपमा ल्याएर विनापैसा काममा लगाउने, कम सेवा सुविधा दिने र अन्य शंकास्पद गतिविधि देखाउन थालेपछि युवतीहरूले पूजाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी हालेका थिए ।

पूजाले उक्त होटल आफूले सञ्चालन गरेको नभई तुलसीराम पराजुलीको भएको बताएपछि प्रहरीले पराजुलीको खोजी कार्य अगाडि बढाएको थियो । पराजुली फरार रहेपछि पूजालाई पनि प्रहरीले त्यत्तिकै छाडेको थियो । पराजुलीले लगानी गरेको वेलकम रेस्टुरेन्ट हाल बन्द छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार