समाचार २७ भाद्र २०८०
स्थानीय अस्पतालमै उपचार पाएपछि सर्वसाधरणलाई सहज

रासस

रसुवा । बिरामी भई उपचारार्थ रसुवा अस्पताल पुग्ने बिरामीले अब स्थानीयस्तरमै उपचार पाउन थालेका छन् । जिल्ला अस्पताल धुञ्चेले बिरामीका लागि पहिलो चरणको रोग पत्ता लगाउन आकस्मिक कक्ष निर्माणका साथै रोगअनुसारका आवश्यक औषधि एवं दक्ष चिकित्सकको व्यवस्था गरेपछि बिरामीलाई अन्य अस्पताल सिफारिस गर्ने परिपाटी न्यून हुँदै गएको छ। 

विगतमा स्रोत साधनको अभाव दर्शाउँदै काठमाडौँ सिफारिस गर्ने परिपाटी क्रमशः अन्त्य हुन थालेको हो । हाल ओपिडीसमेतका संरचना तयार भएको छ । जिल्ला अस्पताल धुञ्चेका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहका अनुसार पछिल्लो समय ठूलै समस्या परेका एक–दुई प्रतिशत बिरामीमात्र फाट्टफुट्टरूपमा काठमाडौँ पठाउने गरेको र अधिकांश बिरामीको स्थानीयस्तरमै उपचार गरी घर फर्काउने गरिएको छ । विगतको तुलनामा रसुवा जिल्ला उदारहणीय बन्दै गएको उत्तरी रसुवाका बासिन्दाले बताएका छन् ।

विगतमा दक्ष जनशक्तिको अभाव र सघन उपचारकक्षको व्यवस्थापन हुन नसकेकै कारण क्षणिक समय दुःखाई न्यूनीकरण गराउन बुस्कोपान नामक औषधिको इन्जेक्सन लगाई काठमाडौँ पठाउने परम्परा रहिआएको थियो ।
 
सधैँ सिफारिस गर्ने हिमाली क्षेत्रको धुञ्चेमा रहेको जिल्ला अस्पताल सुधारका लागि डा शाहले गरेको प्रयास रसुवावासीका लागि जनहितकारी बन्दै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । प्रायः बिरामीलाई सिटामोल र सामान्य चक्की औषधिमात्र दिई पठाउने अस्पतालले पछिल्लो समय शल्यक्रियाबाट प्रसूति सेवा स्थानीयस्तरमा हुन थालेपछि अबका दिनमा राम्रो उपचार पाउने आशाले हिमाली बासिन्दा खुसी भएका छन् ।

जिल्ला अस्पतालको सुदृढीकरण भएलगत्तै उपचार गराउन जानेको सङ्ख्या बढ्दै गएको छ । गत आर्थिक वर्षको वैशाखदेखि चालु आवको भदौ २४ सम्म बरिङ्ग कक्षबाट दुई हजार आठ सय र अन्तरङ्ग कक्षबाट एक सय ४४ जनाले उपचार पाएका छन् । स्थानीय अस्पतालको अन्तरङ्ग कक्षमा उपचार पाउनेको सङ्ख्या भने निकै वृद्धि भएको हो ।

यसैगरी आकस्मिक सेवाअन्तर्गत पाँच महिनाको अवधिमा चार सय २० जनाको उपचार गरेको छ भने ज्येष्ठ नागरिक तथा अशक्त भएका एक सय ८० जनालाई उपचार सेवा प्रदान गरिएको डा शाहले बताए ।

उपचारमा आउने बिरामीमा दम, मधुमेह, उच्च रक्तचाप, बाथ, हाडजोर्नी, मानसिक समस्या, पेट दुख्नेजस्ता बढी समस्याका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालबाट स्वास्थ्य बिमा गराउनेको सङ्ख्या भने ६१ जनामात्र रहेका छन् । अस्पताल आउने सबैलाई बिमासम्बन्धी जनचेतना जगाउने कामसमेत भइरहेको अस्पताल विकास समितिका अध्यक्ष दुर्गाप्रसाद आचार्यले जानकारी दिए।





प्रतिक्रिया

सम्बन्धित समाचार