समाचार २६ असोज २०८०
ललितपुरमा सहकर्मीलाई पेट्रोल छर्किने युवकको बयान– ‘हेपाई सहन नसकेर पेट्रोल छर्किएँ’

ओमकार टाइम्स

काठमाडौँ । असोज २२ मा ललितपुरको ग्वार्कोस्थित तामाको मूर्ति बनाउने कारखानामा २४ वर्षीय अरुण विश्वकर्मालाई सँगै काम गर्ने अर्का युवकले पेट्रोल छर्केर आगो लगाए । ‘एसबी ह्याड ग्राफी’मा कार्यरत पर्साको सुवर्णपुर गाउँपालिका–६ घर भएका अरुणको आगलागीबाट ९० प्रतिशत शरीर जलेको छ । अहिले उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदैछ ।

अरुणलाई उनकै दाइ नाता पर्ने २६ वर्षका सुवास बिक उर्फ शिवुले पेट्रोल छर्केर आगो लगाएका हुन् । उनीहरू दुवैको घर पर्सा सुवर्णपुर–६ का स्थानीय हुन् । अरुणको शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि फरार भएका सुवासलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । असोज २३ मा उनलाई काठमाडौँको सुनधाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले  बताए ।

घटना भएको अघिल्लो दिन उनीहरूको बीचमा मनमुटाब भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपित युवकले आफूलाई ‘हेपेको’ हुनाले पेट्रोल छर्किएको प्रहरीसँग बताएका छन् । प्रहरीसँगको बयानमा सुवास विकले भनेका छन्–‘उसले मलाई हेप्यो अनि, रिस उठेर पेट्रोल छर्केको हुँ ।’


प्रतिक्रिया